कालचिनी। आज प्रायः १२.५५ बजी हेलिकप्टर मार्फत अलिपुरद्वार परेड मैदान स्थित कर्मीसभामा आईपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफू सत्तामा आएपछि गरिएको विकास कार्यक्रमहरूको गन्ती गराउँदै अन्ततः यत्रो सबै गरिदिएको र आज उत्तर बङ्गालको रुप पहिलाको तुलनामा धेरै उन्नत रहेको बताएपछि भाजपालाई कटाक्ष गर्दै कुनै कुनै नकरात्मक शक्तिले बङ्गाललाई विभाजन गर्ने चक्रान्त रचेको तर म रगत दिन तयार छु बङ्गाललाई विभाजन गर्न दिन्न भनि किटान गरेकी थिईन।
उत्तर बङ्गालमा पहाड़देखि शुरु गरेर, डुवर्स तराई, अलिपुरद्वार कोचबिहार जलपाईगढी सबै ठाउँमा सर्वाङ्गीन विकासको काम गरेको र अझै धेरै कार्य गरिन बाँकी रहेको यसको लागि नआत्तिने भीड़लाई आह्वान गरेकी थिईन। तिनले पञ्चायत ग्रामसभा, जिल्ला परिषद सबै स्तरका नेता प्रतिनिधिहरूलाई जनताको घर दैलोमा जाने र उनीहरूको समस्या सुनेर त्यसलाई काम गर्ने निर्देश पनि दिएकी थिईन। भाजपा विधायक र सांसदहरूले सड़क र नदी किनारी बसोबास गर्ने शरणार्थी सुकुमबासी मानिसहरूलाई उच्छेद गर्ने षड़यन्त्र गरिरहेको तर कसैले तिनीहरूलाई पत्तो नदिने राज्य सरकार सुकुमबासीहरूको साथमा रहेको पनि खुलासा गरेकी थिईन।

भाजपाले केवल भोटको समयमा ललीपप देखाउने गरेको तर कहिले केही गर्न नसक्ने बताउँदै कहिले गोर्खाल्याण्ड कहिले उत्तर बङ्गाल अलग राज्य कहिले कामतापुर बनाउँछु भनेको कहाँ बनाउन सक्छन् भन्दै आफू रहुञ्जेल खुन दिन तयार रहेको तर बङ्गाल विभाजन गर्न नदिने स्पष्ट बताएकी थिईन। मुख्यमन्त्री ममता ब्यानर्जीले आज लामो सम्भाषण राखेनन् भने सभास्थलबाट तिनी पुनः हेलिकप्टर मार्फत सुभाषिनी हेलिप्याडमा ओर्लिएर हाँसीमारा गुरुद्वारा दर्शनमा पुगेकी थिईन। भोलि सुभाषिनी मैदानमा गण विवाहमा मुख्यमन्त्री उपस्थित रहने बताइएको छ।









