बर्लिन: स्पेनले यूरोपियन च्याम्पियनशीप (यूरो कप) २०२४-को फाइनल म्याचमा ईंग्ल्याण्डलाई २-१-ले पराजित गर्नको साथै रेकर्ड चौथोपल्ट यस प्रतिष्ठित टुर्नामेण्टमा खिताब जित्यो। यसको साथै स्पेन प्रतिष्ठित यूरो कप फूटबल टुर्नामेण्टको इतिहासमा सबैभन्दा सफल टीम बन्यो। यसअघिसम्म स्पेन र जर्मनीले सर्वाधिक ३-३ पल्ट यूरो कपको खिताब जितेको थियो तर अहिले स्पेन यस टुर्नामेण्टको सबैभन्दा सफल टीम बन्न पुगेको छ। स्पेनले यसअघि १९६४, २००८ र २०१२-मा पनि ट्रफी जितेको थियो। यसरी ईंग्ल्याण्डले चाहिँ ५८ सालदेखि जारी प्रतीक्षालाई समाप्त गर्न सकेन। बर्लिनको ओलम्पियास्टेडियनमा खेलिएको फाइनल म्याच चरम रोमाञ्चक रह्यो। म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनले शुरुदेखि नै ईंग्ल्याण्डलाई दबाउमा राख्यो। दुवै तर्फबाट आक्रमण भए पनि मध्यान्तरसम्म गोल हुन सकेन। दोस्रो हाफको खेलमा चाहिँ स्पेनले शुरुमै गोल हासिल गऱ्यो। निको विलियम्सले लामिन यामालबाट हासिल भएको पासमा गोल गरी स्पेनलाई ४७औं मिनटमा बढ़त दिलाए। एक गोल खाएपछि ईंग्ल्याण्डले पनि लगातार आक्रमण गर्न थाल्यो अनि टीमलाई ७३औं मिनटमा सफलता पनि हासिल भयो। सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिने कोल पाल्मरले ईंग्ल्याण्डलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि दुवै टीमले निर्णायक बढ़त हासिल गर्ने लक्ष्य लिएर आक्रामक फूटबल खेल्यो अनि एक समय त म्याच अतिरिक्त समयसम्म पुग्ने लागिररहेको थियो। त्यही समय मिकेल ओयारजाबलले ८६औं मिनटमा गोल गरी स्पेनको जीत सुनिश्चित गरे। उनले मार्क कुकुरेलाको क्रसमा दर्शनीय गोल गरे।
ईंग्ल्याण्डको टीम ५८ सालदेखि जारी खिताब जित्ने खड़ेरीलाई समाप्त गर्ने लक्ष्य लिएर मैदानमा ओर्लिएको थियो तर उनीहरूले लगातार दोस्रोपल्ट यूरो कपको फाइनलमा हारको सामना गर्नु पऱ्यो। ईंग्ल्याण्डको पुरुष फूटबल टीमले १९६६-मा वर्ल्ड कपको खिताब जकितेपछि अहिलेसम्म कुनै प्रमुख टुर्नामेण्टमा खिताब जित्न सकेको छैन। टुर्नामेण्टको गत संस्करणको फाइनलमा ईंग्ल्याण्डलाई इटलीले टाईब्रेकरमा पराजित गरेको थियो। स्पेनिश टीम टुर्नामेण्टमा अजेय रहेर फाइनलमा पुगेको थियो जबकि ईंग्ल्याण्डको अभियान चाहिँ उतार-चड़ाउले भरिएको रह्यो। ईंग्ल्याण्डले यूरो २०२४-को नक्आउट चरणको आफ्नो तीनैवटा म्याचमा शुरुमै गोल खाएर पुनरागमन गर्दै जीत हासिल गरेको थियो।
यसबीच स्पेनका स्टार खेलाड़ी लामिन यामाल फाइनल म्याच खेल्न ओर्लिनको साथै कुनै पनि प्रमुख टुर्नामेण्टको फाइनलमा खेल्ने सबैभन्दा युवा खेलाड़ी बने। उनले ब्राजीलका महान फूटबलर पेलेले ६६ साल अघि बनाएको रेकर्ड तोड़े। यामल १७ साल र १ दिनको उमेरमा यूरो कप २०२४-को फाइनल खेल्न ओर्लिए। यसरी महान पेलेले १९५८-मा फिफा वर्ल्ड कपको फाइनल खेल्दा उनको उमेर १७ साल २४९ दिन थियो। यसअघि यामालले फ्रान्सविरुद्ध खेलिएको सेमिफाइनलमा पनि विशेष उपलब्धि हासिल गरेका थिए। उनी यूरो कपको इतिहासमा गोल गर्ने सबैभन्दा कम्ती उमेरका खेलाड़ी बनेका थिए।









