यूएस ओपनः नडाल पराजित, टियाफोको साथमा स्वियातेक र पेगुला क्वार्टर फाइनलमा

photocollage_20229613272432.jpg

६ सेप्टेम्बरः यूएस ओपन टेनिस टुर्नामेण्टमा दिग्गज खेलाड़ी रफायल नडाल उलटफेरको शिकार बने। अमेरिकी खेलाड़ी फ्रान्सेस टियाफोले नडालको ग्राण्ड स्ल्याम प्रतियोगिताहरूमा गत २२ वटा म्याचदेखि जारी विजयाभियानमा ब्रेक लगाउँदै पहिलोपल्ट यूएस ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाए। अमेरिकी खेलाड़ीले आर्थर ऐस स्टेडियममा खेलिएको चौथो राउण्डको म्याचमा स्पेनिश स्टार नडाललाई ६-४, ४-६, ६-४, ६-३-ले पराजित गरे। म्याच जितेपछि टियाफोलाई धेरै खुशी देखियो। उनले भने, मलाई त सम्पूर्ण विश्व नै रोकिएको जस्तो लाग्यो। एक मिनटको निम्ति त मैले केही सुनिनँ। चौबीस वर्षीय टियाफोलाई यूएस ओपनमा २२औं वरीयता दिइएको छ। उनी एण्डी रोडिक (२००६) पछि यस ग्राण्ड स्ल्याम प्रतियोगिताको क्वार्टर फाइनलमा पुग्ने सबैभन्दा कम्ती उमेरका अमेरिकी खेलाड़ी हुन्।
क्वार्टर फाइनलमा टियाफोको भिड़न्त आन्द्रे रुबलेवसँग हुनेछ। रुसका खेलाड़ी रुबलेवले लुइस आर्मस्ट्रंग स्टेडियममा सातौं वरीयता प्राप्त क्यामरन नोरीलाई ६-४, ६-४, ६-४-ले पराजित गरे। नडालले यस साल जनवरीमा अष्ट्रेलियन ओपन र जूनमा फ्रेञ्च ओपनको खिताब जितेका थिए। त्यसपछि उनी जुलाईमा विम्बल्डनमा पनि सेमिफाइनलमा पुगेका थिए तर चोटले गर्दा उनी टुर्नामेण्टबाट हट्न वाध्य भएका थिए। यूएस ओपनमा चारपल्टका च्याम्पियन नडालले त्यसपछि केवल एउटा टुर्नामेण्ट खेलेका थिए। नडालको नाममा सर्वाधिक २२ वटा एकल ग्राण्ड स्ल्याम खिताब जित्ने विश्व रेकर्ड रहेको छ। यसमा १४ वटा फ्रेञ्च ओपन, चारवटा यूएस ओपन, दुईवटा विम्बल्डन र दुईवटा अष्ट्रेलियन ओपनको खिताब सामेल छ।
यसबीच महिला एकलमा शीर्ष वरीयता प्राप्त इगा स्वियातेकले पहिलो सेट गुमाएपछि असाधारण पुनरागमन गर्दै जूल नेमीयरलाई २-६, ६-४, ६-०-ले पराजित गरिन्। यसको साथै उनी यूएस ओपनमा पहिलोपल्ट क्वार्टर फाइनलमा पुगिन्। स्वियातेकले अब क्वार्टर फाइनलमा आठौं वरीयता प्राप्त अमेरिकी खेलाड़ी जेसिका पेगुला विरुद्ध खेल्नेछिन्। पेगुलाले दुईपल्टकी विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवालाई सजिलैसँग ६-३, ६-२-ले पराजित गरिन्।

About Author

Advertisement