यूएफा यूरो कपः नीदरल्याण्ड र तुर्किये क्वार्टर फाइनलमा

IMG-20240703-WA0122

बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा नीदरल्याण्ड र तुर्कियेले अन्तिम दुईवटा टीमको रूपमा क्वार्टर फाइनलमा स्थान बनायो। टुर्नामेण्टको प्री-क्वार्टर फाइनल चरण मंगलवार राति समाप्त भयो। नीदरल्याण्डले उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै रोमानियालाई ३-०-ले पराजित गऱ्यो। म्यूनिखको आलियाञ्ज एरेनामा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने नीदरल्याण्डले पूरा म्याचमा विपक्षी टीममाथि दबाउ कायम राख्यो। म्याचमा कोडी गाक्पोले शुरुमै नीदरल्याण्डलाई बढ़त दिलाए। लिभरपूलको यस फरवर्डले २०औं मिनटमा गोल गरे अनि टीमले त्यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। रोमानियाको पोस्टमा लगातार आक्रमण गर्ने डच टीमले म्याचको रहल दुईवटा गोल चाहिँ अन्तिम समयमा हासिल गऱ्यो अनि ती दुवै गोल डोनयेल मालेनले दर्ता गरे। बोरुसिया डर्टमण्डका यस फरवर्डले पहिलो ८३औं मिनट अनि पछिबाट इञ्ज्युरी टाइमको तेस्रो मिनटमा लगातार २ गोल गरी रोमानियाको हार सुनिश्चित गरे। यसरी अबेर राति खेलिएको चरम रोमाञ्चक प्री-क्वार्टर फाइनलमा तुर्कियेले अष्ट्रियालाई २-१-ले पराजित गऱ्यो। तुर्कियेको टीमलाई टुर्नामेण्टमा तेस्रोपल्ट क्वार्टर फाइनलमा पुऱ्याउनमा गोलकीपर मर्ट गुनोकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै केही असाधारण शेभ गरे। रेड बूल एरेना लिपजिगमा खेलिएको यस म्याचमा विजेता टीमबाट दुवै गोल मेरिह डेमिरालले गरे। उनले म्याचको पहिलो र ५९औं मिनटमा गोल गरी अष्ट्रियाको चुनौतीलाई माटोमा मिलाए। म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्दै अष्ट्रियाले दुवै हाफमा आक्रामक फूटबल खेले पनि हारबाट बाँच्न सकेन। टीमको निम्ति एकमात्र गोल माइकल ग्रेगोरिश्चले ६६औं मिनटमा गरे। अष्ट्रियाले म्याचमा गोल गर्ने कही नजिकको मौकाहरू पनि गुमायो। अब ७ जुलाईमा खेलिने चौथो क्वार्टर फाइनलमा नीदरल्याण्ड र तुर्कियेबीच भिड़न्त हुनेछ।

About Author

Advertisement