यूएफा नेशन्स लीगः ईंग्ल्याण्ड र फ्रान्सको हार, नीदरल्याण्ड्स विजयी

photocollage_202265154338800.jpg

५ जूनः ईंग्ल्याण्डको टीमले हंगेरी विरुद्ध गत ६ दशकमा पहिलोपल्ट हारको सामना गर्नु पऱ्यो जबकि यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा इटली र जर्मनीबीचको म्याच चाहिँ ड्र रह्यो। यसबीच फ्रान्सले पनि निराशाजनक हारको सामना गर्नु पऱ्यो। शनिवार राति खेलिएको ग्रुप सी-को म्याचमा ईंग्ल्याण्डलाई हंगेरीले १-०-ले पराजित गऱ्यो। रीस जेम्सको फाउलपछि हंगेरीलाई म्याचको ६६औं मिनटमा पेनल्टी प्राप्त भयो अनि डोमिनिक सोबोसलाई-ले त्यस मौकालाई गोलमा परिणत गरी टीमको जीत सुनिश्चित गरे। जेम्सले सोबोसलाई विरुद्ध नै फाउल गरेका थिए। हंगेरीले यसअघि अन्तिमपल्ट ईंग्ल्याण्डलाई १९६२-को विश्व कपमा पराजित गरेको थियो। त्यसपछि ईंग्ल्याण्डको टीम हंगेरी विरुद्ध १५ वटा म्याचदेखि अजेय थियो। पेनल्टी शूटआउटमा प्राप्त भएको पराजयलाई छोड़्दा ईंग्ल्याण्डको गत २३ वटा म्याचमा यो पहिलो हार हो। यसै ग्रुपमा इटली र जर्मनीबीच खेलिएको अन्य एउटा म्याच चाहिँ १-१-ले ड्र रह्यो। म्याचमा यूरो कप विजेता इटलीबाट लोरेञ्जो पेलेग्रिनीले ७०औं र जर्मनीबाट जोशुआ किम्मिचले ७३औं मिनटमा गोल गरे।
यसरी नै ग्रुप ए-मा विश्व कप विजेता फ्रान्सले डेनमार्क विरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सलाई करीम बेञ्जेमाले ५१औं मिनटमा बढ़त दिलाए पनि डेनमार्कबाट एण्ड्रिएस कोर्नेलिउसले ६८औं र ८८औं मिनटमा लगातार २ गोल गरी आफ्नो टीमलाई जीत दिलाए। यसै ग्रुपमा अष्ट्रियाले क्रोएशिया विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। स्टार खेलाड़ीहरूले सुसज्जित क्रोएशिया विरुद्ध मार्को अर्नाउटोविचले ४१औं, माइकल ग्रेगोरस्टिचले ५४औं र मार्सेल सेबिट्जरले ५७औं मिनटमा गोल गरे। यसरी ग्रुपमा अष्ट्रिया र डेनमार्कको ३-३ पोइण्ट भयो तर गोल अन्तरको आधारमा अष्ट्रिया शीर्ष स्थानमा रहन पुग्यो।
ग्रुप डी-मा दुई शक्तिशाली टीमबीचको भिड़न्तमा नीदरल्याण्ड्सले बेल्जियम विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट मेम्फिस डिपायले २ गोल गरे। यस जीतपछि डच टीम ३ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो। ग्रुप बी-मा अर्मेनियाले एडवर्ड स्पर्टम्यानले दोस्रो हाफमा छिराएको गोलको सहायताले आयरल्याण्डलाई १-०-ले पराजित गऱ्यो। फिनल्याण्ड र बोस्निया-हर्जेगोविनाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो जबकि मोण्टेनेग्रोले रोमानियालाई २-०-ले पराजित गऱ्यो। ग्रुप सी-मा तुर्कीले फेरो आइल्याण्डलाई ४-०-ले अनि लग्जमबर्गले लिथुआनियालाई २-०-ले पराजित गऱ्यो।

About Author

Advertisement