यूएफा च्याम्पियन्स लीगः एट्लेटिको म्याड्रिड र पीएसजी-को पहिलो लेगमा जीत

IMG-20260409-WA0066

बार्सिलोना: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको क्वार्टर फाइनल राउण्डअन्तर्गत पहिलो लेगमा एट्लेटिको म्याड्रिड र पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले आत्मविश्वास बढ़ाउने जीत हासिल गऱ्यो। यस जीतले यी दुवै टीमको निम्ति दोस्रो लेगमा दबाउ निक्कै कम्ती हुनेछ। एट्लेटिको म्याड्रिडले बुधवार राति खेलिएको म्याचमा बार्सिलोनालाई २-०-ले पराजित गऱ्यो। स्पेनको दुई अग्रणी टीमबीच खेलिएको म्याच चरम रोमाञ्चक रह्यो तर मध्यान्तरको ठीक अघि १० जना खेलाड़ीमा सीमित हुँदा बार्सिलोनालाई ठूलो झट्का लाग्यो। एट्लेटिकोका फरवर्ड गुलियानो सिमेओनलाई गोल गर्नदेखि रोक्ने प्रयासमा बार्सिलोनाका डिफेण्डर पाउ कुबार्सीले ४४औं मिनटमा रेड कार्ड देखे। युवा डिफेण्डरलाई गुमाएपछि बार्सिलोना दबाउमा पऱ्यो। त्यही मौकामा हासिल भएको फ्री किकलाई गोलमा परिणत गरी जूलियन अल्वारेजले ४५औं मिनटमा एट्लेटिकोलाई बढ़त दिलाए। त्यसपछि दोस्रो हाफको खेलमा एलेक्जेण्डर सरलोथले ७०औं मिनटमा गोल गरी एट्लेटिकोको जीत सुनिश्चित गरे। आफ्नो होम ग्राउण्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाको निम्ति मार्कस रासफोर्ड र लामिन यामालले केही नजिकको मौकाहरू गुमाए। एट्लेटिकोले यस जीतको साथ केही अघि मात्र स्पेनिश ला लीगामा बार्सिलोनाविरुद्ध १-२-ले हारको हिसाब पनि चुक्ता गऱ्यो। यसरी अन्य एउटा म्याचमा गत सीजनको विजेता पीएसजी-ले ईंग्लिश प्रीमियर लीग क्लब लिभरपूललाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७४ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सीसी क्लबले लिभरपूललाई पूरा म्याचमा दबाउमा राख्यो। होम टीमले म्याचको दुवै हाफमा १-१ गोल गऱ्यो। डेसिरे डुओले ११औं मिनटमा पीएसजी-को निम्ति पहिलो गोल गरे। त्यसपछि खविचा ख्वारात्सखेलियाले ६५औं मिनटमा गोल गरे। लिभरपूलको टीमलाई पूरा म्याचमा ब्याकफूटमा देखियो अनि टीमले पूरा म्याचमा केवल ३ पल्ट विपक्षी पोस्टमा आक्रमण गर्न सक्यो। च्याम्पियन्स लीगको क्वार्टर फाइनल चरणको दोस्रो लेगका म्याचहरू १५ अप्रेलदेखि शुरु हुनेछ।

About Author

Advertisement