दुबई: संयुक्त अरब इमिरेट्स (यूएई)को सेनाले ईरानतर्फबाट आएको भनिएका मिसाइल र ड्रोनमध्ये धेरैलाई आफ्नो एयर डिफेन्स प्रणाली र सैन्य हेलिकप्टरले लक्ष्यमा पुग्नुअघि नै खसालेको दाबी गरेको छ।
यूएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियोमा संयुक्त अरब इमिरेट्स ज्वाइन्ट एभिएसन कमान्डका एएच-६४डी अपाचे आक्रमणकारी हेलिकप्टरहरू कारबाहीमा देखिएका छन्।
भिडियोअनुसार रडार प्रणालीले आकाशतर्फबाट आउने मानव रहित हवाई सवारी (यूएभी) र मिसाइलहरू पहिला पहिचान गरेको थियो। त्यसपछि तिनीहरूलाई ट्र्याक गरी एयर डिफेन्स प्रणालीमार्फत आकाशमै नष्ट गरिएको देखिन्छ।
रक्षा मन्त्रालयले देशको सुरक्षा र सार्वभौमिकताको विषयमा कुनै सम्झौता नहुने बताएको छ। यूएई सशस्त्र बलले देशविरुद्ध हुने कुनै पनि हमला वा खतरा रोक्न र त्यसको जवाफ दिन आफूहरू पूर्ण रूपमा तयार रहेको जनाएको छ।
मन्त्रालयका अनुसार कथित “ईरानी आक्रामकता” सुरु भएयता हालसम्म १८९ वटा ब्यालिस्टिक मिसाइल पत्ता लगाइएको छ। तीमध्ये १७५ वटा मिसाइल एयर डिफेन्स प्रणालीले आकाशमै खसालेको बताइएको छ भने १३ वटा मिसाइल जमिनमा पुग्नुअघि नै समुद्रमा खसेका छन्। अधिकारीहरूका अनुसार केवल एउटा मिसाइल मात्र यूएईको भूमिमा खसेको छ।
त्यसैगरी कुल ९४१ वटा ईरानी ड्रोन पनि पत्ता लगाइएको बताइएको छ। तीमध्ये ८७६ वटा ड्रोनलाई अवरोध गरी नष्ट गरिएको छ भने ६५ वटा देशभित्र खसेका छन्।
रक्षा मन्त्रालयले आठ वटा क्रुज मिसाइल पनि पत्ता लगाएर सफलतापूर्वक खसालिएको जनाएको छ।
शनिबार साँझ दुबई र अबु धाबीमा सायरन र अलार्मको आवाज सुनिएको थियो। मन्त्रालयका अनुसार ती आवाजहरू एयर डिफेन्स प्रणालीले ब्यालिस्टिक मिसाइलहरू रोक्दा र लडाकु विमानहरूले ड्रोन नष्ट गर्दा आएको थियो।








