युनियन अनि कम्पनीमाझ सम्झौता भएपछि श्रमिकहरूको अन्सन स्थगित : भोलिदेखि बन्द कमानहरू खोलिने

IMG-20220908-WA0179.jpg

दार्जिलिङ: सम्झौता अनुसार २७ दिन लामो चलेको श्रमिक संघर्षपछि १० वटा कमान भोलिदेखि खोलिने भएको छ। हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन केन्द्रीय अध्यक्ष जेबी तामाङ अनि महासचिव भरत ठकुरीले जानकारी गराए अनुसार चिया श्रमिकको २ पाक्षिक भत्ता अनि एक महिनाको वेतन कम्पनीले भोलि नै भुक्तान गर्ने निर्णय लिएको छ। तामाङले भनेका छन् कि कम्पनीका मालिकले आगामी सप्ताह दार्जीलिङ आएर सभा गर्ने वचन दिएका छन्। यसको साथै भविष्यमा यस्तो कार्य फेरि नगर्ने र गल्ती भए सरकार पक्षले सोझै लीज खारिज गर्नुसक्छ भनी लिखित रूपमा आश्वासन दिएका छन्। तामाङले जानकारी दिएका छन् कि १० वटा कम्पनीको नयाँ मालिक रेम्ब्रान्ट भएको छ। नयाँ मालिकले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा, जिल्लापालसंग बैठक बसेर नै निर्णय लिएका हुन्। तामाङले अनित थापालाई धन्यवाद दिँदै भने कि उनकै श्रमिक प्रेम अनि श्रमिकलाई न्याय दिलाउने सोचको कारण नै आजको निर्णय आएको हो। मालिक पक्षको यिनै वचनमाथि भर गरेर चार दिनदेखि चलिरहेको रिले अनसन साथै २७ दिनदेखि श्रमिकहरूले गर्दै आएको आन्दोलन स्थगित गरिएको हो। स्मरण रहोस, बन्सल अधिनस्थ १० वटा चिया बगान श्रमिकको भत्ता अनि वेतन भुक्तानी नभएको कारण श्रमिकहरू आन्दोलनमा उत्रेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले श्रमिकको समर्थनमा उभिएर सरकारलाई कम्पनी को लिज खारिज गर्न पत्राचारसम्म गरेका थिए। उनले चिया बगान यदि कम्पनीले चलाउनु सक्दैन भने श्रमिक आफैले चलाउन सक्ने क्षमता राख्ने कुरा गरेका थिए। उनकै समर्थनमा पार्टीका भातृ संगठन श्रमिकको पक्षमा उभिए अनि श्रमिकको साथमा आन्दोलन गर्दै थिए। जिल्लापाल कार्यालय परिसरमा गरिएको आन्दोलनमा भागोप्रमोका नेतृत्वहरु, सभासदहरुलाई पनि आन्दोलन स्थलमा देखिएको थियो।

About Author

Advertisement