युद्धको छायाँमा उदाउँदै चीन: विश्व राजनीतिमा नयाँ शक्ति सन्तुलन

IMG-20260407-WA0019

नयाँ दिल्ली: अमेरिका–इरान युद्धले केवल मध्यपूर्वको भू-राजनीतिक अवस्था मात्र परिवर्तन गरेको छैन, यसले विश्व शक्ति सन्तुलनको आधारभूत संरचनामै नयाँ प्रश्नहरू खडा गरेको छ। ऊर्जा संकट, आपूर्ति शृंखला अवरोध र आर्थिक अस्थिरताको बीचमा एक शक्ति यस्तो देखिएको छ, जसले प्रत्यक्ष युद्ध नगरे पनि आफ्नो प्रभाव विस्तार गरिरहेको छ—चीन। पछिल्ला घटनाक्रमहरूले देखाएका छन्, चीन अब केवल एक आर्थिक शक्ति मात्र होइन, बरु विश्व राजनीतिक समीकरणमा निर्णायक भूमिका खेल्ने अवस्थातर्फ अघि बढिरहेको छ।
विगत एक दशकदेखि एसिया र अफ्रिकाका धेरै विकासशील देशहरू चीनको ऋण, पूर्वाधार लगानी र आपूर्ति शृंखलामा बढ्दो निर्भरताप्रति सशंकित थिए। “ऋणपासो कूटनीति” भन्ने शब्दावली नै चर्चामा आयो। तर, अहिलेको संकटले त्यो विमर्शलाई आंशिक रूपमा चुनौती दिएको छ। जब परम्परागत ऊर्जा स्रोतहरू अस्थिर भए र पश्चिमी देशहरूको ध्यान आफ्नै रणनीतिक प्राथमिकतामा केन्द्रित रह्यो, त्यही बेला चीनले निर्माण गरेको वैकल्पिक संरचनाहरू—विशेषतः नवीकरणीय ऊर्जा र सस्तो प्रविधि—धेरै देशहरूका लागि राहत बने।
पाकिस्तानको उदाहरण यस सन्दर्भमा अत्यन्त सान्दर्भिक छ। विगतमा इन्धन मूल्यवृद्धिले पटक–पटक आर्थिक संकट भोग्ने यो देश अहिले अपेक्षाभन्दा स्थिर देखिनु संयोग मात्र होइन। चीनबाट आयात गरिएका सौर्य प्यानलहरूले ऊर्जा निर्भरता घटाउन महत्वपूर्ण भूमिका खेलेका छन्। घरपरिवार स्तरमै ऊर्जा उत्पादनको क्षमता विस्तार हुँदा अन्तर्राष्ट्रिय बजारको झट्कालाई सामना गर्ने क्षमता बढेको छ। यो केवल ऊर्जा नीतिको सफलता होइन, चीनसँगको दीर्घकालीन रणनीतिक सहकार्यको प्रतिफल पनि हो।
नेपालको सन्दर्भ पनि फरक छैन। सस्तो चिनियाँ विद्युतीय सवारीसाधन र जलविद्युतमा गरिएको लगानीले पेट्रोलियम पदार्थमा निर्भरता घटाउन सहयोग गरेको छ। जब विश्व बजारमा तेलको मूल्य आकासिन्छ, त्यस्तो अवस्थामा वैकल्पिक ऊर्जा स्रोत भएका देशहरू तुलनात्मक रूपमा सुरक्षित रहन्छन्। यसले देखाउँछ चीनले प्रवर्द्धन गरेको हरित प्रविधि केवल व्यापारिक वस्तु होइन, बरु भू-राजनीतिक प्रभाव विस्तार गर्ने माध्यम पनि हो।
तर, यसलाई एकतर्फी रूपमा “चीनको जित” भन्नु सरल विश्लेषण हुनेछ। चीनको बढ्दो प्रभावसँगै केही गम्भीर प्रश्नहरू पनि उब्जिएका छन्। के चीनसँगको निर्भरता दीर्घकालीन रूपमा सुरक्षित छ? विगतका केही घटनाहरूले देखाएका छन्, चीनले व्यापार र आपूर्ति शृंखलालाई राजनीतिक दबाबको साधनका रूपमा प्रयोग गर्न सक्छ। त्यसैले, अहिलेको स्थिरता भविष्यको जोखिममुक्त अवस्थाको संकेत भने होइन।
यद्यपि, वर्तमान परिस्थितिले एउटा स्पष्ट सन्देश दिएको छ—विश्व अब एकध्रुवीय संरचनाबाट टाढिँदैछ। अमेरिका र उसका सहयोगीहरू जहाँ सैन्य र रणनीतिक हस्तक्षेपमा केन्द्रित छन्, चीनले आर्थिक, प्राविधिक र पूर्वाधार निर्माणमार्फत आफ्नो प्रभाव विस्तार गरिरहेको छ। यो दुई फरक दृष्टिकोणको प्रतिस्पर्धा हो—एक, शक्ति प्रदर्शनमार्फत नियन्त्रण; अर्को, निर्भरता सिर्जना गरेर प्रभाव विस्तार गरेको छ।
यस प्रतिस्पर्धामा विकासशील देशहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ। उनीहरू अब केवल प्रभाव ग्रहण गर्ने निष्क्रिय पक्ष होइनन्, बरु विकल्पहरूको बीचमा सन्तुलन खोज्ने सक्रिय खेलाडी बन्न थालेका छन्। चीनसँग सहकार्य गर्दा तत्काल लाभ देखिए पनि दीर्घकालीन रणनीति सन्तुलित हुन आवश्यक छ। नत्र, एक प्रकारको निर्भरताबाट मुक्त हुँदै अर्को निर्भरतामा फस्ने जोखिम रहन्छ।
अन्ततः, अमेरिका–इरान युद्धले विश्व राजनीतिमा एउटा नयाँ युगको संकेत दिएको छ, जहाँ शक्ति केवल सैन्य क्षमताले मात्र परिभाषित हुँदैन। ऊर्जा, प्रविधि र आपूर्ति शृंखला जस्ता “मौन शक्ति” हरूले नै वास्तविक प्रभाव निर्धारण गर्न थालेका छन्। चीनले यही क्षेत्रमा आफ्नो पकड बलियो बनाउँदै गएको छ, जसले उसलाई प्रत्यक्ष हस्तक्षेप नगरी पनि निर्णायक शक्ति बनाइरहेको छ।
अब प्रश्न केवल यति मात्र होइन, चीन बलियो भयो कि भएन, बरु यो हो विश्वले यो नयाँ यथार्थलाई कसरी आत्मसात् गर्छ। विकासशील देशहरूका लागि यो अवसर पनि हो र चुनौती पनि। सही सन्तुलन कायम गर्न सके, उनीहरू लाभान्वित हुनेछन्; नत्र, नयाँ शक्ति खेलको मोहरा बन्ने खतरा सधैं रहनेछ।

About Author

Advertisement