खरसाङ: यसपाली खरसाङकै भूमिपुत्र सोनाम लामाले टिकट पाएको र उनी भाजपाको मात्र होइन तर सबै गठबन्धन दलकहरुका उमेद्वार साथै सम्पूर्ण गोर्खाहरुका भावी विधायक हुन् भनी दार्जिलिङ एका सांसद राजु विष्टले खरसाङमा भारतीय जनता पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, पहाडका जनतालाई धन्यवाद दिन चाहान्छु कारण यत्ति लामो समयसम्म भाजपालाई विश्वास गरेर जिताएका छन्। यसको लागि जनताप्रति ऋणि छु। मलाई विश्वास छ यसपाली पहाडको तीनैवटा आसनमा भाजपा उम्मेद्वारहरुले सजिलै जित्नेछ। यसपाली गोर्खाहरुको इतिहास लेखिन्दै पहाडको तीनवटा र तराई डुवर्सका गरेर जम्मा ५ जना गोर्खा विधायकहरु पश्चिम बंगालको विधानसभामा जानेछन्। गोर्खाहरुले पहिलोपटक यस्तो इतिहास लेख्नेछन्।’
सांसद राजु विष्टले इन्टरलोक्युटर विषयमा बोल्दै भने, इन्टरलोक्युटरलई सबैले खिल्ली उडाए तर भारत सरकारले इन्टरलोक्युटरलाई आधिकारिक रूपमा नियुक्त गरेको छ। यसले यो प्रमाणित गरेको छ कि भारतीय जनता पार्टीको सरकार पहाड तराई डुवर्सप्रति इमान्दार छ भनेर।’ उनले यसपाली पहाड तराई डुवर्सको स्थायी राजनैतिक समाधान आगामी छ महिनाभित्र हुने भनी ठोकुवा गरे।
उनले भने, मैले त्यसैको लागि राजनीति गरेको हो। मैले पैसा कमाउन राजनीति गरेको होइन। मेरो राजनीतिक मिशन अनित थापाको जस्तो कमिशनको राजनीति होइन।’
सांसद राजु विष्टले अझ भने, यो साल पश्चिम बंगालमा परिवर्तनको लहर छ। बंगाल र पहाडको जनताले पनि संकल्प गरेको छ कि २०२६ मा तृणमूल र बीजीपीएमबाट मुक्ति पाउनेवाला छ। २०२६ मा भ्रष्टाचारबाट पनि मुक्ति पाउनेछ र गुण्डाराजबाट पनि मुक्ति पाउनेछ। बंगाल र पहाडमा ममता दिदीको होइन तर भारत सरकारको कानुन लागु हुनेछ।’
सांसद विष्टले अझ भने, पहाडलाई पुनः समृद्ध बनाउन हाम्रो संकल्प छ। पहाडको गरिमा पुनः स्थापना गर्ने हाम्रो संकल्प छ जुन २०२६ मा पूरा हुने भएको छ। हाम्रो सरकार बनिन्दा हाम्रो केन्द्रबिन्दुमा युवाहरु हुनेछन्। किनभने युवाहरु सबै रोजगारको खोजीमा पलायन भएका छन्।’
सांसद विष्टले चियाबारी विषयमा बोल्दै भने, चियाबारी बिजोकमा छ। भारत सरकारले निम्नत्तम रोजगार बनायो तर पश्चिम बंगालमा लागु भएन। सरकार बनेको तीन महिनामा नयाँ श्रम कानून लागु गर्नेछौँ र कम्तीमा ३०० रुपियाँ हाजिरा हुनेछ।’ सांसद राजु विष्टले खरसाङको लागि अमृत २.० जल परियोजनाकोे लागि २१० करोड रुपियाँ आएको बताउँदै जीटीएमा केही काम भएको छैन। यहाँ भएको भनेको केवल केन्द्र सरकारबाट आएको रकमले विकास भएको दावी गरेका छन्।










