हिंडेको रंगुन, पुगे वाङ म्याङ्टम
त्यसपछि दुबई छाडेका योगराज विमानबाट नोभेम्बर १८ मा रंगुन पुगे। रंगुन विमानस्थलमा लिन आएका व्यक्तिहरूले उनलाई त्यहाँबाट करीब चार किलोमिटर टाढाको ‘टेन माइल होटल’मा पुर्याए र चार दिन त्यहीं राखे। २२ नोभेम्बरमा बर्मेली र चिनियाँ भाषा बोल्ने दुई जना एजेन्ट होटलमा आइपुगे। उनीहरूले योकु जेम्स कम्पनी लिमिटेडको शाखा कार्यालय ‘ताइचेलेक’ मा रहेको जानकारी दिए। र, होटलमा योगराजसँगै रहेका इन्डोनेशियाली नागरिक फौजानलाई ताइचेलेक शाखामा नै काममा लगाउने भन्दै रंगुनबाट विमानमा केङतुङ नामको शहरमा पुर्याए।

ताइलेचेक थाइल्याण्डको सीमा नजिकैको ठाउँ हो। तर, केङतुङ विमानस्थलमा ओर्लिएपछि भने उनीहरूलाई गाडीमा थाइल्याण्डको सीमा नजिकैको ताइचेलेकको साटो, चिनियाँ सीमा नजिकैको माइपोङ शहरबाट करिब आठ किलोमिटरको दूरीमा रहेको वाङ म्याङ्टम भन्ने ठाउँमा पुर्याइयो। योगराज भन्छन्, “टेलिफोन सम्पर्क पनि नहुने त्यो अनकन्टार जङ्गलमा मोटर, मोटरसाइकल र डुंगाको यात्रा निकै कहालीलाग्दो थियो।”
म्यान्मारको उत्तरपूर्वी शान प्रान्त भित्रै ‘वा’ विद्रोहीहरूको कब्जामा रहेका माइपोङ तथा म्याङ्टमसहितका शहरहरूको क्षेत्रलाई ‘वा स्टेट’ भनिन्छ। त्यहाँ म्यान्मारी सैन्य सरकारसँग वार्ता गरेर विद्रोही समूह ‘युनाइटेड वा स्टेट आर्मी’ले जातीय राज्य चलाइरहेको छ। केङतुङ भन्दा केही परदेखि नै विद्रोहीहरूको कब्जामा रहेको क्षेत्रमा इन्डोनेशियाली नागरिक फौजानसँगै योगराजलाई ‘युनाइटेड वा स्टेट आर्मी’कै स्कर्टिङमा केही घण्टा गाडीको सवारीपछि बाँसलाई रबरले बाँधेर बनाइएको डुंगाबाट खोला तरी मोटरसाइकलमा माइपोङ पुर्याइएको थियो। दोभाषे र ‘वा स्टेट आर्मी’लाई पछ्याउँदै हिंडेका उनीहरूलाई शुरूमा मोटरसाइकलमा आधा घण्टामा पुगिन्छ भनिए पनि घण्टौं हिंड्नु परेको थियो। योगराज भन्छन्, “कुनै ठाउँमा शंका लागेर सोध्दा पनि खुकुरी बोकेका विद्रोही सेनाले कडा नजरले हेर्थे। हामी यति त्रस्त थियौं कि, ज्यान तल–माथि होला भन्ने डरमा जोडबल गरेर सोध्न सकिएन।”
हाम्रो सम्पर्कमा आएका केही नेपालीभाषी म्यान्मारीका अनुसार विद्रोहीहरूको अधीनमा भएका क्षेत्रमा सहजै प्रवेश असम्भवप्रायः छ। नाम उल्लेख नगर्ने शर्तमा उनीहरूमध्येका एकले हामीलाई भने, “म्यान्मारका कचिन, छिन, शान, कयिन, करेनलगायत प्रान्तभित्र जातीय सशस्त्र विद्रोही समूहको नियन्त्रण बलियो रहेका द्वन्द्वग्रस्त क्षेत्रहरू सन् २०२१ फरवरीको सैन्य ‘कु’पछि आपराधिक समूहको आश्रयस्थलमा परिणत भएका छन्।” यही ठाउँमा योगराज, इन्डोनेशियाका फौजानसँगै २३ नोभेम्बरमा पुगेका थिए। विद्रोही सेनाको शिविर नजिकै कार्यालय भनिएको वाङ म्याङ्टमको एक ‘भिल्ला’मा उनले ‘रोजगारदाता’ चिनियाँ नागरिक योङ झाउलाई पहिलो पटक भेटे।
शुरूमा राम्रै व्यवहार गरेका चिनियाँले मासिक १ हजार अमेरिकी डलर र अतिरिक्त काम गरे थप पैसा दिने आश्वासन दोहोर्याए। काम थियो– क्रिप्टोकरेन्सी स्क्याम र लभ स्क्याममार्फत हङकङ, मलेशिया, सिंगापुर, थाइल्याण्ड, ताइवान, जापान र कोरियामा रहेका युवायुवतीसँग सम्बन्ध स्थापित गर्ने, उनीहरूबाट पैसा तान्ने अनि टाढिने। त्यसका लागि आवाज परिवर्तन गर्ने सफ्टवेयर र ठग्ने विधि सिकाइन्थ्यो। यस बाहेक ‘डिसेन्ट्रलाइज्ड फाइनान्सिङ’को नाममा उनीहरूले विभिन्न व्यक्तिसँग सम्पर्क गरी १०० देखि ३०० डलरसम्म लगानी गर्न उत्साहित गर्ने काम पनि थियो। त्यसका लागि शुरूमा लगानी अनुसारको ब्याज लगानीकर्ताहरूको क्रिप्टो खातामा जम्मा गर्दै थप लगानीका लागि उत्साहित गर्नुपर्थ्यो। र, लगानी बढेपछि सबै रकम कम्पनीको खातामा जम्मा गर्ने उनीहरूको कमाउ सूत्र थियो। योगराज भन्छन्, “सबै काम ठग्नकै लागि हुन्थ्यो।”
योगराज र फौजान वाङ म्याङ्टम पुगेको १० दिनपछि दुई जना इन्डोनेशियाली युवतीहरू इन्नयाह सल्साबिल र मेडिलिनी पनि आइपुगे। भारत, गुजरातका निरभ बरमोतिया र उत्तरप्रदेशका मोहनलाल, शेषनाथ र अमितकुमार प्रजापति पनि त्यही भिल्लामा पुगे। पैसा कमाएर परिवारको गुजारा चलाउने सपनाले त्यहाँसम्म पुगेकाहरू इन्जिनियर, चालक र प्लम्बर पृष्ठभूमिका थिए। एकजना नेपाली र तीन इन्डोनेसियालीहरू हुँदासम्म राम्रै व्यवहार गरिरहेका ‘रोजगारदाता’ चिनियाँ नागरिक योङ झाउ, भारतीय नागरिकहरूको प्रवेशसँगै गैरकानूनी काममा जबर्जस्ती गर्न थाले। लगत्तै उनीहरूका फोन, पासपोर्ट जफत गरियो। अनि अनलाइनमा ग्राहक खोजेर जसरी भए पनि कम्पनीको खातामा पैसा जम्मा गर्न उर्दी गरियो। काम गर्न नसक्नेहरूलाई खाना र पानी पनि नदिई हत्कडी लगाउने र डोरीले बाँधेर पिट्ने गर्न थालियो। अनि मात्र योगराजलगायत त्यहाँ पुगेकाहरूले आफूहरू मानव तस्करको जालोमा परेर बेचिएको पत्तो पाए।
योगराजलगायतलाई बन्धक बनाइएको ‘वा’ म्यान्मारको शान प्रान्तभित्रको एउटा जातीय राज्य हो, जहाँ विद्रोही समूह ‘युनाइटेड वा स्टेट आर्मी’ले सन् १९८८ देखि ‘स्वायत्त शासन’ चलाउँदै आएको छ। अफिम खेती आम्दानीको मुख्य स्रोत भएको ‘वा स्टेट’ जुवाका लागि पनि कुख्यात छ। यहाँका क्यासिनो कतिपय चिनियाँ तथा दक्षिणपूर्वी एशियाका धनाढ्यको गन्तव्य बनेका छन्। एक नेपालीभाषी म्यान्मारी नागरिकका अनुसार पछिल्लो समय विद्रोहीहरूकै आडमा चिनियाँ ‘आपराधिक समूह’हरूले ती ठाउँलाई साइबर–अपराधको अखडा बनाएका छन्। उनी भन्छन्, “अनलाइन मार्फत गरिने सबै किसिमका गैरकानूनी धन्दा चलाउनका लागि नेपाल, भारत, इन्डोनेशिया, मलेशिया, लाओस र श्रीलंकाबाट सयौंको सङ्ख्यामा त्यहाँ मानव तस्करी भइरहेको छ।”
योगराजका अनुसार उनीहरूको काम अरूलाई ठगेर कम्पनीको खातामा पैसा जम्मा गर्नुहुन्थ्यो। तर, भने जस्तो ‘स्क्याम’ गर्न सजिलो थिएन। शुरूमा ‘स्क्याम’का लागि आफ्ना ‘आइटी वर्कर’हरूलाई एशियाली मुलुकमा केन्द्रित गराएका योङ झाउले पछि यूरोप केन्द्रित हुन लगाए। योगराज भन्छन्, “त्यहाँ पुगेका हामी सबैजसोले कसैलाई ठग्न नसके पनि प्रयास भने गरिरहेका थियौं। आशातीत परिणाम नआएपछि साइबर अपराधको प्रयास गरिरहेकालाई पनि यातना दिन थालियो।” यातनाबाट अत्तालिएका गुजरातका निरभले आफूलाई म्यान्मार पठाउने एजेन्टलाई सम्पर्क गरेर घर फर्काइदिन याचना गर्न थाले। त्यसले योङ झाउलाई आक्रोशित बनायो। र, अरू कामदारलाई पनि बाँधेर पिट्न थालियो। म्यान्मार ल्याउन प्रतिव्यक्ति ७५ हजार अमेरिकी डलर खर्च भएको दाबी गर्दै त्यो रकम नउठाए मिर्गौला बेचेर भए पनि रकम असुल्ने धम्की दिन थालेपछि त्यहाँ रहेका धेरैले भाग्ने योजना बनाए। जङ्गलको बीचमा अग्लो पर्खाल र तारबारले घेरिएको भिल्लामा रात–दिन चिनियाँ सुरक्षागार्डको निगरानी भएकाले भाग्न सजिलो थिएन।
अरूलाई नठग्ने बरु घर फर्कने बताएपछि निरभ बरमोतियालाई हत्कडी लगाएर राखियो, पिटियो अनि खान पनि दिइएन। उनले फिरौती तिरेर भए पनि त्यहाँबाट उम्कने उपाय खोजे। त्यसका लागि चिनियाँ ‘मालिक’ले उनीसँग ७५ हजार अमेरिकी डलर मागे। खोज पत्रकारिता केन्द्रको सम्पर्कमा आएका निरभ बरमोतियाले सुनाए, “पछि शिविरबाट छुट्ने बेलामा १० हजार र रंगुन विमानस्थलमा पुगेपछि मालिकको खातामा १० हजार हालिदिने गरी २० हजार डलरमा मलाई रिहा गर्ने सहमति भयो।” सहमतिअनुसार रंगुन विमानस्थल पुगेपछि दिने भनिएको १० हजार समेत गरी २० हजार अमेरिकी डलर निरभका परिवारले योङ झाउको खातामा पठाए। तर, झाउले अर्को अत्तो थापे। त्यसबाहेक पनि थप १० हजार डलर नदिए नछाड्ने अडान उनले राखे। “७५ हजार अमेरिकी डलर खर्च गरेको छु भनेर बार्गेनिङ शुरु गरेका उनी २० हजारमा आइपुगेका थिए। तर २० हजार तिरेपछि फेरि थप १० हजार डलर खोजे” २७ दिनसम्म लगातार यातना पाएपछि त्यहाँबाट उम्किएका निरभ भन्छन्, “अन्तिममा मेरो अंकल र अरू दुईजनाले सहयोग गरेपछि त्यहींको विद्रोही सेनाले हामीलाई उद्धार गर्यो।”









