म्यानमारमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

IMG-20250401-WA0035

नयाँ दिल्ली: म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पले कम्तीमा दुई हजारभन्दा बढीको मृत्यु भएपछि देशको सत्तारूढ सैन्य जुन्ताले एक साताको लागि राष्ट्रिय शोक घोषणा गरेको छ। अप्रिल ६ सम्म चल्ने उक्त शोक अवधिमा  आधा झण्डा झुकाइने पनि जनाइएको छ।
सहायता समूहहरूले युद्धग्रस्त देशमा मानवीय संकट बिग्रिँदै गएको चेतावनी दिँदै संयुक्त राष्ट्रसंघले ८० लाख डलरको लागि तत्काल अपिल गरेको छ। खाद्यान्न अभाव, ठूलो विस्थापन र गृहयुद्धले ग्रस्त म्यानमारमा भूकम्पले भोकमरी र रोगको प्रकोप बढाउन सक्ने चेतावनीसमेत संयुक्त राष्ट्रसंघले सोमबार दिएको छ। त्यहाँका अस्पतालहरू पूर्ण क्षतिग्रस्त छन्। मृत शरीरहरूको दुर्गन्ध सडकमा फैलिएको बताइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार त्यहाँको कम्तीमा तीन अस्पतालहरू पूर्ण रूपमा क्षतिग्रस्त छन् भने अन्य २२ वटा आंशिक रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कुनै उपचार सम्भव देखिन्न।  
विद्यालयहरूमा विद्यार्थीका झोला, किताब र सिकाइ सामग्रीहरू भग्नावशेषमा छरिएका छन्। म्यानमारका सैन्य नेताहरूले अझै पनि चार वर्षदेखि लडिरहेको सशस्त्र प्रतिरोधी समूहविरुद्ध हवाई आक्रमण गरिरहेका छन्। यसले गर्दा पनि त्यहाँको उद्धार र मानवीय सहायतमा समस्या परेको जनाइन्छ।


छिमेकी थाइल्यान्डमा, भूकम्पले गर्दा २० जनाको मृत्यु भएको छ। राजधानी बैंककमा भत्किएको एक अग्लो भवनको भग्नावशेषमुनि फसेका ७४ जना निर्माण क्षेत्रका कामदारहरूको उद्धार प्रयास जारी राखिएको छ। यद्यपि उनीहरू घण्टौंसम्म भग्नावशेषमा गाडिएकाले उनीहरू जिउँदो रहेको संकेत निकै कम रहेको जनाइएको छ। 

About Author

Advertisement