म्यानचेष्टर युनाइटेडले धोका दिएको आरोप लगाए रोनाल्डोले

IMG-20221114-WA0153.jpg

१४ नोभेम्बरः दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोले एउटा टीभी साक्षात्कारमा आफ्नो क्लब म्यानचेष्टर युनाइटेड र टीमका प्रशिक्षक एरिक टेन हेगको कड़ा भाषामा आलोचना गर्दै उनलाई क्लबले धोका दिएको अनि उनलाई केही सीनियर अधिकारीहरूले बाहिर गर्ने प्रयास गरेको अनुभव भएको बताए। यो साक्षात्कार यस हप्ता ब्रिटेनको टक टीभी-मा प्रसारित गरिनेछ तर फीफा वर्ल्ड कप अघि म्यानचेष्टर युनाइटेडको अन्तिम म्याच अघि आइतवार यस साक्षात्कारको केही क्लीप जारी गरियो। रोनाल्डोलाई लगातार दोस्रो म्याचमा टीमबाट बाहिर राखियो। क्लबले रोनाल्डोलाई कुनै अज्ञात बिमारी भएको जानकारी दिएको छ। यसबीच स्टार फूटबलर रोनाल्डोको साक्षात्कारले उनले क्लबको तर्फबाट आफ्नो अन्तिम म्याच खेलिसकेको सम्भावना सृष्टि भएको छ।
पियर्स मोर्गन अनसेन्सर्ड कार्यक्रममा रोनाल्डोसँग के उनलाई म्यानचेष्टर युनाइटेडका केही शीर्ष अधिकारीहरूले टीमबाट बाहिर गर्ने कोशिष गरिरहेका छन् भनी प्रश्न गरियो। जवाफमा रोनाल्डोले खुलेर भने, सही कुरा। यसमा प्रशिक्षक मात्र नभएर क्लबका अन्य तीन-चारजना अधिकारी पनि सामेल छन्। मलाई त आफूसँग धोका भएको अनुभव भइरहेको छ। पोर्तुगलका यस ३७ वर्षीय खेलाड़ीसँग के क्लबका सीनियर अधिकारीहरूले उनलाई बाहिर गर्ने कोशिष गरिरहेका छन् भनी फेरि प्रश्न गरिँदा उनले भने, मलाई कुनै पर्वाह छैन। मानिसहरूले सत्य कुरा जान्नु पर्छ। मलाई त आफू ठगिएको जस्तो अनुभव भइरहेको छ। केही मानिसहरू मलाई यहाँ देख्न चाहँदैनन्। यो यस सालको मात्र कुरा होइन। गत वर्ष पनि यस्तै परिस्थिति र माहोल थियो।
उल्लेखनीय छ, रोनाल्डो यस सीजनको शुरुवातदेखि नै शुरुवाती एकादशबाट बारम्बार बाहिर रहे। गत महिना टोटनह्याम हट्स्पर विरुद्ध म्याचमा उनले स्थानापन्न (सब्स्टीट्यूड) खेलाड़ीको रूपमा मैदानमा ओर्लिन अस्वीकार गरेका थिए। त्यसपछि प्रशिक्षक एरिकटेन हेगले उनलाई चेल्सी विरुद्ध म्याचको निम्ति टीममा नै राखेनन्। रोनाल्डोले प्रशिक्षकसँग आफ्नो सम्बन्धबारे भने, जसले मलाई सम्मान गर्दैनन्, म पनि त्यस व्यक्तिलाई सम्मान गर्दिन। तपाईंले मलाई सम्मान गर्नु हुँदैन भने म किन तपाईंलाई सम्मान गर्नु?

About Author

Advertisement