भद्रपुर: मोरङको सुन्दरहरैँचा नगरपालिका-९ मुस्लिम टोलमा घरभित्रै गोरु काटिएको छ। गोरु काट्ने घरधनीलाई प्रहरीले पक्राउ गरेको छ।
मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा सोमबार बिहान ११ः३० बजेतिर प्रहरी पुगेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको थियो।
गोरुको मासुसहित घरधनी खातुनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको उनले बताए। गोरु काटेको घटनामा संलग्न ४ जना फरार बनेका छन्। इलाका प्रहरी कार्यालयय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले उनीहरुको खोजी गरिरहेको छ।
‘गोरु काटेर मासु बाँडफाँट गर्ने योजना रहेको पाइयो,’ बस्नेतले भने, ‘थप विषय अनुसन्धानपछि खुल्छ।’ उनका अनुसार पक्राउ परेकी खातुनकै घरमा पालेको गोरु काटेको यकिन भएको छ।मुलुकी अपराध संहिता, २०१७ को दफा २८९ ले गाई गोरु मारेमा सजाय हुने व्यवस्था गरेको छ। संहिताको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैनभन्ने उल्लेख छ। त्यस्तो कार्य गर्नेलाई ३ वर्षसम्म कैद हुने व्यवस्था छ।










