सिलगढी: माटिगारा थानाको पुलिसले मोबाइल एप मार्फत अनलाइन आईपीएल सट्टेबाजी चलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम सुन्दरलाल दुग्गड रहेको छ । गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा माटिगढा पुलिस थाना र सिलगढी महानगरीय पुलिसको स्पेशल अपरेशन ग्रुपले शुक्रबार दिउँसो माटिगढाको एउटा सपिङ मलमा छापा मारेर व्यक्तिलाई पक्राउ गरेको हो। पुलिस स्रोतअनुसार उक्त व्यक्तिले केही दिनदेखि मोबाइल एपमार्फत अनलाइन आईपीएल सट्टेबाजीको र्याकेट चलाइरहेको थियो। यस्तो सूचना पाएपछि उनीहरूले सपिङ मलभित्र रहेको सुन पसलमा छापा मारेर पक्राउ गरेका थिए । उनको साथबाट करिब ९८ हजार नगद बरामद भएको छ। आरोपीलाई शनिबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो। यस र्याकेटमा अरु को–को संलग्न छन् भन्ने विषयमा मटिगढा पुलिस चौकीले अनुसन्धान सुरु गरेको छ।









