प्रदेश भाजपा महिनाव्यापी जनसम्पर्क अभियान

IMG-20230522-WA0341.jpg

गान्तोक। भारतीय जनता पार्टी, सिक्किम प्रदेशले केन्द्रमा मोदी सरकारको ९ वर्ष पूरा भएको उपलक्ष्यमा आगामी ३० मईदेखि ३० जूनसम्म महिनाव्यापी जनसम्पर्क अभियान चलाउने निर्णय लिएको छ। आज सिङ्तामस्थित पार्टी प्रदेश कार्यसमितिको बैठकमा केन्द्रद्वारा निर्देशित उक्त महिनाव्यापी जनसम्पर्क अभियानलाई लिएर चर्चा परिचर्चा गर्दै चरणबद्ध ढंगमा विभिन्न कार्यक्रमहरू तय गरिएको छ। आजको सभामा पार्टी प्रदेश प्रभारी डा. दिलीप जैस्वालको मुख्य रूपमा उपस्थिति रहेको थियो भने प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्षगण वाईटी लेप्चा, अर्जुन राई, महामन्त्री भरत दुलाललगायत विभिन्न मोर्चा समिति, प्रदेश कार्यसमिति सदस्यगण साथै जिल्ला अध्यक्ष अनि महासचिवहरूको उपस्थिति रहेको थियो। सभाले आगामी कार्यक्रमको निम्ति प्रदेश, जिल्ला तथा मण्डल स्तरमा विभिन्न कमिटीहरू पनि गठन गरेको छ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रभारी डा. दिलीप जैश्वालले राज्यमा भाजपाको बढ्दो संगठनप्रति खुशी व्यक्त गर्दै प्रत्येक बुथस्तरसम्म पार्टीलाई मजबुत बनाउनुपर्ने कुरामा जोड़ दिए। उनले आगामी महिनाव्यापी जनसम्पर्क अभियानमा मोदी सरकारले अहिलेसम्म गरेका ऐतिहासिक तथा जनकल्याणकारी कार्यहरूबारे सिक्किमेली जन-जनसम्म प्रचार गर्नुपर्ने बताउँदै यसले संगठन विस्तारमा ठूलो सहयोग पुग्ने आशय व्यक्त गरे। यस क्रममा उनले मोदी सरकारका विविध उपलब्धिहरूमाथि पनि प्रकाश पारेका थिए।
आफ्नो सम्बोधनको क्रममा प्रदेश अध्यक्ष डीआर थापाले मोदी सरकारको विगत 9 वर्ष अत्यन्तै उपलब्धिपूर्ण रहेको बताउँदै निर्धारित महिनाव्यापी कार्यक्रमलाई सफल बनाउन सबै स्तरका कार्यकर्ताहरूलाई लागिपर्न आह्वान गरे। यसै गरी अध्यक्ष थापाले हालै सम्पन्न विधानसभा बजेट सत्रमा आफूले सिक्किमे जनताको पक्षमा उठाएका विविध मुद्दाहरूबारे प्रकाश पार्दै यसमा एसपीएससीको परीक्षामा भएको लापर्वाही, फेयर वेदर रोडका ठेकादारहरूको थाँतीमा रहेको बीलहरू, एनएचआईडीसीएलद्वारा दक्षिण सिक्किमका विभिन्न ठाउँमा सड़क निर्माणको क्रममा स्थानीयवासीमाथि भएका अन्यायहरू, बेरोजगारी समस्या साथै विविध समसामयिक मुद्दाहरू विधानसभामा उठाएको बताए।

यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश महामन्त्री भरत दुलालले केन्द्रद्वारा निर्देशित महिना व्यापी कार्यक्रमका विविध पक्षहरूबारे प्रकाश पारेका थिए भने उपाध्यक्ष अर्जुन राईले आफ्नो सम्भाषणमा विभिन्न सांगठनिक विषयहरूबारे अवगत गराएका थिए। कार्यक्रमलाई हालै पार्टीमा प्रवेश लिएका वरिष्ठ साहित्यकार एवं राजनीतिज्ञ चक्रपाणी भट्टराई अनि रिनाक निवासी बीएस गौतमले पनि संक्षिप्त सम्बोधन राखेका थिए। यस अवसरमा केही नयाँ सदस्यहरूले पनि पार्टीमा प्रवेश लिएका छन्।

About Author

Advertisement