मेस्सीको इशारामा नाच्यो इटली, फिनालिसिमा ट्रफी जित्यो अर्जेण्टिनाले

IMG-20220602-WA0084.jpg

२ जूनः सालको अन्ततिर कतरमा विश्व कप फूटबलको महाकुम्भ आयोजन हुनेछ। फूटबल जगतका दुई दिग्गज क्रिस्टियानो रोनाल्डो अनि लियोनल मेस्सीको यो सम्भवत अन्तिम विश्व कप हुनेछ। त्यही लक्ष्य लिएर आफूलाई कतिको तयार राखेका छन् भन्ने मेस्सीले एक झलक देखाए वेम्बले स्टेडियममा। तथाकथित शक्तिशाली इटलीको डिफेन्ससँग बुधवार राति खेलाँची नै गरे। साथीहरूका निम्ति एकपछि अर्को गोलको मौका बनाए मेस्सीले।

यसैको फलस्वरूप अर्जेण्टिनाले इटलीलाई ३-०-ले पिटेर पहिलो फिनालिसिमा ट्रफी हासिल गऱ्यो। कोपा अमेरिकापछि राष्ट्रिय टोलीको निम्ति मेस्सीको यो दोस्रो ठूलो सफलता हो। यसबाहेक यो उनको करियरको ४०औं ट्रफी हो। यूरो कप विजेता भएर पनि लगातार दोस्रोपल्ट किन विश्व कपको निम्ति क्वालीफाई गर्न नसकेको भन्ने इटलीले फेरि एकपल्ट मैदानमा साबित गऱ्यो। आफ्नो शक्तिशाली डिफेन्समाथि गर्व गर्ने इटलीलाई मेस्सीले उचित शिक्षा दिए। एटेकिंग थर्ड अर्जेण्टिनाको डिफेन्समाथि इटलीका मीडफिल्डर या स्ट्राईकरहरूले कुनै दबाउ नै सृष्टि गर्न सकेनन्। गोलकीपर गियानलुइगी डोन्नारुम्माले केही असाधारण शेभहरू नगरेको भए अर्जेण्टिना अझ ठूलो अन्तरले विजयी हुने थियो।

यूरो कप विजेता र कोपा अमेरिका च्याम्पियनबीच खेलिएको यस म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाले इटलीलाई अधिक मौका नै दिएन। पूरा म्याचमा अर्जेण्टिनाई टीमको आधिपत्य रह्यो। पहिलो हाफको खेलमै २ गोलको साथ अर्जेण्टिनाले इटलीको चुनौतीलाई माटोमा मिलायो। दुई च्याम्पियन टीमबीच भएको यस म्याचमा मेस्सीको प्रभावशाली प्रदर्शनअघि विपक्षी टीमको कुनै शीप चलेन। ल्याटिन अमेरिकी देशको तर्फबाट गोल गरे लौटारो मार्टिनेज, एञ्जेल डी मारिया अनि पाउलो डिबालाले।यसमा मार्टिनेज र डिबाला इटलीकै सेरि ए लीगमा क्रमशः इण्टर मिलान र युभेण्टसबाट खेल्छन्। यस म्याचको जीतको साथै सब प्रतियोगिता मिलाएर ३२ वटा म्याचदेखि अपराजित रह्यो अर्जेण्टिना। यूरोप र ल्याटिन अमेरिकाको सर्वश्रेष्ट टीमबीच भिड़न्तमा यो अर्जेण्टिनाको दोस्रो जीत हो। यसअघि १९९३ सालमा अर्जेण्टिनाले डेनमार्क विरुद्ध जीत हासिल गरेको थियो। त्यस समय डिएगो म्याराडोनाले जीत दिलाएका थिए भने यसपाली मेस्सी अघि आए। म्याचको २८औं मिनटमा मेस्सीले बढ़ाएको गोलीलाई लौटारो मार्टिनेजले कुनै गल्ती नगरी विपक्षी नेटमा हाले। त्यसपछि मध्यान्तरको ठीक अघि बढ़तलाई दोब्बर पारे डी मारियाले। मार्टिनेजबाट गोल हासिल गरी मारियाले चतुऱ्याईंको साथ गोल गरे। दोस्रो हाफको खेलमा डोन्नारुम्माले ३-४ वटा असाधारण शेभ गरे। उनले गोल नबचाएको भए हारको अन्तर अझ ठूलो हुने थियो। म्याचको अन्तिम क्षणमा अर्जेण्टिनालाई तेस्रो गोल दिलाए वैकल्पिक (सब्स्टीट्यूड) खेलाड़ीको रूपमा मैदानमा पस्ने डिबालाले।

About Author

Advertisement