गान्तोक: किसान समुदायलाई थप सहयोग पुर्याउने तथा ठूला अलैंची खेतीलाई दिगो बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठक सम्मान भवनमा सम्पन्न भयो। बैठकको अध्यक्षता मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे।
प्राप्त जानकारी अनुसार बैठकका क्रममा विज्ञान तथा प्रविधि विभागले ठूला अलैंची सम्बन्धी विभिन्न विषयमा गरिरहेको महत्वपूर्ण कार्यबारे जानकारी दिइयो। साथै यस अवसरमा सम्बन्धित टोलीलाई सामूहिक र नवीन ढंगले काम गर्दै यस क्षेत्रलाई अझ सुदृढ बनाउन आग्रह गरियो।
कार्यक्रमका अवसरमा विज्ञान तथा प्रविधि विभागको टोलीलाई क्षेत्रीय पहुँच, अनुगमन तथा विस्तार कार्यलाई सुदृढ बनाउन महिन्द्रा क्याम्पर सवारीसाधन हस्तान्तरण गरियो। साथै बोरडो मिश्रणको नवप्रयोगमार्फत ठूला अलैंचीमा लाग्ने ब्लाइट रोग नियन्त्रणसम्बन्धी अभ्यासहरूको संकलन पनि सार्वजनिक गरियो।
यसै अवसरमा ‘कृषक अलैंची प्रयोगशाला’ स्थापना गर्नका लागि चिन्हस्वरूप प्रमाणपत्र वितरण गरिनुका साथै सहभागितामूलक बिरुवा प्रजनन कार्यक्रमअन्तर्गत दस जना प्रगतिशील किसानलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरियो।

कार्यक्रममा किसानहरूले आफ्ना अनुभव साझा गरेका थिए भने खेत स्तरमा देखिएका समस्याबारे पनि छलफल गरियो। विज्ञान तथा प्रविधि विभागका प्रधान सचिव डा. सन्दीप ताम्बेले ‘विज्ञानबाट नीतिसम्मका सुझाव’ विषयमा महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए।
किसान तथा विज्ञहरूको प्रत्यक्ष अनुभव र सुझाव सुन्न पाउनु प्रेरणादायी रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले संजाल मार्फत राज्यले विज्ञान, नवप्रवर्तन र किसान समुदायको सामूहिक शक्तिका माध्यमबाट अलैंची किसान तथा राज्यको कृषि क्षेत्रलाई अझ सुदृढ र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको कुरा प्रकाश पारे।










