शिलंगः मेघालयको सोनापुरमा फेरि पैह्रो गएपछि सिलचर-बदरपुर, मिजोरम, मणिपुर औ त्रिपुराको देशका रहल भागसित सड़क सम्पर्क विच्छिन्न भएको छ। मेघालयमा लगातार परिरहेको मुसलधारे पानीको कारणले गए बिहीवार अबेर राती पैह्रो गएको थियो।
उल्लेखनीय छ, गत ५ अगस्तमा पनि यसै स्थानमा पैह्रो गएकोले मार्ग अवरूद्ध भएको थियो। पैह्रोले सोहोरेर ल्याएको माटो-ढुङ्गा आदिलाई सफा गरेर सड़कलाई सुचारू गरिएको थियो हिजो फेरि पैह्रो गएर उस्तै भएको छ। आज बिहानदेखिकै सड़कमा थुप्रिएको ढुङ्गा-माटोलाई सफा गर्ने कार्य आरम्भ गरिएको भए पनि लगातार परिरहेको पानीले हिलो-माटो बगाएर सड़कमा थुपार्ने सिलसिला जारी छ। पैह्रोले सोहोरेर ल्याएको माटोले सुरूङ्गको अघिल्लो भाग भरिसकेको छ जसकारणले छः नम्बर सिलचर-बदरपुर लिङ्क रोड पूर्ण रूपले बन्द भएको छ।
यसरी सड़क बन्द भएपछि सिलचर-बदरपुर सहित मिजोरम, मणिपुर, त्रिपुरा आदि स्थानतिर जाने वाहनहरूको लस्कर कैयौं किलोमीटरसम्म पुगिसकेको छ।
-हिस










