मुख्य प्रशिक्षक खालिद जमीलद्वारा घोषित सम्भावित खेलाड़ीहरूका सूचीमा स्थान पाएनन् सुनिल छेत्रीले

IMG-20250817-WA0064

नयाँ दिल्ली: भारतीय फूटबल टीमका नवनियुक्त मुख्य प्रशिक्षक खालिद जमीलले आउँदो सीएएफए नेशन्स कपको निम्ति ३५ सदस्यीय सम्भावित खेलाड़ीहरूका सूची जारी गरेका छन्। यस टुर्नामेण्टको आयोजन ताजिकिस्तान र उज्बेकिस्तानमा हुनेछ। चाखलाग्दो कुरा के छ भने यस सूचीमा चमत्कारी स्ट्राईकर सुनिल छेत्रीको नाम सामेल छैन। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको फसेला फिर्ता लिएर मैदानमा फर्किएपछि गत ४ वटा म्याचमा औसत प्रदर्शनको आधारमा उनलाई टीमबाट बाहिर गरिएको सम्भावना रहेको छ। न्यूज एजेन्सी पीटीआई-को रिपोर्ट अनुसार, सुनिलले आफ्नो नाममा विचार नगर्ने अनुरोध गरेका थिए या उनलाई विश्राम दिइएको हो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन कारण उनको इण्डियन सुपर लीग (आईएसएल) टीम बेंगलुरु एफसी ले अहिलेसम्म प्री सीजन ट्रेनिंग शुरु गरेको छैन। आईएसएल-को भविष्यलाई लिएर जारी अनिश्चितताले गर्दा बेंगलुरु एफसी ले हालै आफ्नो पहिलो टीमका खेलाड़ीहरू र स्टाफहरूका वेतन रोकेको थियो, जसमा छेत्री पनि सामेल छन्। जमीलको सम्भावित खेलाड़ीहरूका सूचीमा बेंगलुरु एफसीका अन्य खेलाड़ीहरू गोलकीपर गुरप्रीत सिंह सन्धू, डिफेण्डर चिंगलेनसाना सिंह, राहुल भेके, रोशन सिंह नाओरेम र मीडफिल्डर सुरेश सिंहको नाम सामेल छ। अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-का अधिकारीहरू यस मामिलामा कुनै टिप्पणी गर्न चाहँदैनन्। उनीहरू मुख्य प्रशिक्षक जमीलले नै यस प्रश्नको जवाफ दियोस् भन्ने चाहन्छन्।
उल्लेखनीय छ, ४१ वर्षीय छेत्रीले गत वर्ष जूनमा कुवैतविरुद्ध म्याच खेलेपछि अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका थिए तर तत्कालीन मुख्य प्रशिक्षक मनोलो मार्क्वेजको अनुरोधमा एशियाई कप क्वालीफायरको तेस्रो चरणमा टीमको सहायता गर्न यस साल मार्चमा मालद्वीपविरुद्ध म्याचको साथ उनी राष्ट्रिय टीममा पर्किएका थिए। त्यसपछि उनले ४ वटा म्याच खेलेर केवल एक गोल गरेका थिए। जमीलद्वारा चयन गरिएका खेलाड़ीहरूले शनिवारदेखि बेंगलुरुमा अभ्यास शुरु गरेका छन्। अहिलेसम्म २२ जना खेलाड़ीले शिविरमा रिपोर्ट गरिसकेका छन्। अन्य १३ जना खेलाड़ी आ-आफ्नो क्लबसँग डूरण्ड कपमा अभियान समाप्त गरेपछि शिविरमा सामेल हुनेछन्।

About Author

Advertisement