गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले गत पाँच सेप्टेम्बर शिक्षक दिवसको दिन घोषणा गरेको “बोर्ड परीक्षा तयारीका लागि मुख्यमन्त्री मेन्टरशिप कार्यक्रम” अन्तर्गत गतिविधि कार्यरुपमा आएको छ। यसअन्तर्गत स्रोत समूहको लागि प्रशिक्षण कार्यक्रम शुरु भएको छ। जसमा छ जिल्लाका ८४ जना शिक्षकहरू सहभागी छन्। प्रशिक्षण कार्यक्रम १९ अनि २० सेप्टेम्बरको दिन विकास क्षेत्रस्थित सर टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो। कार्यशालाको उद्घाटन अतिरिक्त मुख्य सचिव आर तेलाङले गरेका थिए। उनले विद्यार्थीहरूको शैक्षिक विकास गराउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताए। दशौं कक्षा बोर्ड परीक्षाको लागि तयार गरिरहेका विद्यार्थीहरुका लागि यस अग्रगामी पहलले विद्यार्थीहरूलाई मार्गदर्शन र सहयोग प्रदान गर्ने बताए। योजनअन्तर्गत शैक्षिक वर्ष २०२४-२५ को बोर्ड परीक्षामा शतप्रतिशत उत्तीर्ण हासिल गर्ने लक्ष्य राखिएको छ। मुख्यमन्त्रीको मेन्टरशिप कार्यक्रमलाई एक व्यापक क्षमता विकास पहलको रूपमा डिजाइन गरिएको छ जसले विद्यार्थीहरुको क्षमता सुधार गर्न र शिक्षा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन मदत गर्ने आशा गरिएको छ। यस कार्यक्रमले शिक्षकहरूलाई बोर्ड परीक्षा सामग्रीहरू प्रभावकारी रूपमा प्रयोग गर्न र राज्य स्रोत समूहलाई सशक्त पार्नमा सहयोग हुने बताइएको छ। सिक्किमको शिक्षा विभागले सबै सरोकारवालाहरूलाई मुख्यमन्त्रीको मेन्टरशिप कार्यक्रममा गम्भीरता देखाउने आग्रह गरेको छ।










