मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा ‘कनेक्ट टु सीएम’ कार्यक्रममार्फत नागरिकसँग प्रत्यक्ष संवाद

IMG-20260311-WA0001

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ ले ‘कनेक्ट टु सीएम’ पहलअन्तर्गत सम्मान भवनमा आयोजित मुख्यमन्त्री जन संवाद कार्यक्रमको अध्यक्षता गरेका छन्। यस पहलको उद्देश्य शासनलाई नागरिकको घरदैलोमा पुर्‍याउनु रहेको बताइएको छ।
मुख्यमन्त्री कार्यालय (सीएमओ) का अनुसार यो कार्यक्रम सरकार र नागरिकबीच प्रत्यक्ष संवादलाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम हो। कार्यक्रममा विशेषगरी डेस्मी बीपीएल वर्गका परिवार तथा आर्थिक रूपमा कमजोर वर्गलाई सहयोग पुर्‍याउने विषयमा ध्यान केन्द्रित गरिएको थियो।
कार्यक्रमका क्रममा राज्यभरका ३४ वटा ब्लक प्रशासनिक केन्द्र (बीएसी) हरूलाई भिडियो कन्फरेन्सिङमार्फत जोडिएको थियो। यस अवसरमा विभिन्न जिल्लाका खण्ड विकास अधिकारी (बीडीओ) तथा लाभार्थीहरूसँग अन्तरक्रिया गरिएको थियो।
मुख्यमन्त्रीसँगको संवादका क्रममा धेरै लाभार्थीहरूले विभिन्न कल्याणकारी योजनाअन्तर्गत सहयोग प्राप्त गरेका छन्। ती योजनाहरूमा मुख्यमन्त्री चिकित्सा सहायता योजना, मुख्यमन्त्री विवेकाधीन अनुदान, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, सिक्किम गरीब आवास योजना, भूमिहीनहरूलाई जग्गा आवण्टन तथा गरिब विद्यार्थीहरूका लागि मुख्यमन्त्री शिक्षा सहायता योजना समावेश छन्। साथै सरकारी रोजगारीका अवसरबारे पनि छलफल गरिएको थियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङ ले योग्य व्यक्तिसम्म लाभ पु¥याउने उद्देश्यले पारदर्शी प्रमाणीकरण प्रक्रियामार्फत लाभार्थी चयन गरिएको जानकारी दिए। उनले लाभार्थीहरूलाई सम्बन्धित आधिकारिक आदेश र सुविधाहरू एक हप्ताभित्र सम्बन्धित बीएसीमा पठाइने आश्वासन पनि दिएका छन्।
उनले सरकार बीपीएल परिवार तथा आर्थिक रूपमा विपन्न वर्गलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए। यस्ता कार्यक्रम प्रशासनिक अवरोध कम गर्न, जनताको खर्च घटाउन र सरकारी सेवाहरूलाई तल्लो तहमा अझ सुलभ बनाउन सञ्चालन गरिएको उनले बताए।
मुख्यमन्त्रीका अनुसार पारदर्शिता बढाउन, सेवा प्रवाह सुदृढ गर्न र नागरिकलाई सशक्त बनाउन यस्ता जन संवाद कार्यक्रम प्रत्येक दुई महिनामा आयोजना गरिनेछ।
सीएमओका अनुसार १४ अक्टोबर २०२५ मा सुरु गरिएको ‘कनेक्ट टु सीएम’ मञ्चले नागरिकलाई गुनासो राख्न, सहयोग माग्न तथा सरकारसँग प्रत्यक्ष संवाद गर्न माध्यम प्रदान गर्दै आएको छ। समयमै हस्तक्षेप र प्राप्त आवेदनहरूको द्रुत प्रतिक्रियामार्फत यसले प्रशासनिक अवरोधका कारण उत्पन्न समस्याहरू समाधान गर्न सहयोग पुर्‍याउँदै आएको छ।

About Author

Advertisement