मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानद्वारा सम्मान

photocollage_2022612225824552.jpg

गान्तोक। आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थान (एसएमआईएमएस) मा पचासवटा नि:शुल्क एमबीबीएस सीट सुनिश्चित गर्न सफल बनेकोमा एसएमआईएमएसले सम्मानित गऱ्यो। कार्यक्रमको आयोजना सिक्किम मणिपाल विश्वविद्यालय (एसएमयू) र राज्य कोटा प्राप्त गर्न सफल एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरूले गरेका थिए। संस्थानलाई वार्षिक रूपमा आवण्टित हुने १५० एमबीबीएस सीट मध्ये ८० सीट सिक्किमका विद्यार्थीहरूको निम्ति सुनिश्चित गर्न मुख्यमन्त्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। ८० सीट मध्ये ३० सीट पूर्ण भुक्तान कोटामा पर्छ भने ५० सीट पूर्ण रूपमा नि:शुल्क कोटामा पर्छ। कार्यक्रममा मुख्यमन्त्री तामाङलाई एसएमयूका कूलपति र वरिष्ठ प्रशासनिक अधिकारीहरूको बाहुलीद्वारा स्मृति चिन्ह र प्रशस्ति पत्र अर्पण गरियो। यसैगरी, मुख्यमन्त्रीलाई विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूद्वारा पनि कृतज्ञता व्यक्त गरिएको थियो। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री तामाङले सम्मानका लागि विश्वविद्यालयप्रति आभार व्यक्त गरे। आफुले पाएको सम्मान मुख्यमन्त्रीले केबिनेट मन्त्रीहरू, प्रशासन र सिक्किमका जनताप्रति समर्पित गरे। उनले पचासवटा नि:शुल्क एमबीबीएस सीट संयुक्त टीम प्रयासको परिणाम रहेको बताए।
मुख्यमन्त्रीले संस्थानको समग्र विकासका लागि उपयुक्त माहोल तयार गर्न सफल बनेकोमा सम्पूर्ण एसएमयु परिवारलाई बधाई दिए। उनले सबैका लागि बलियो स्वास्थ्य देखभाल प्रणाली सुनिश्चित गर्ने सपनालाई साकार बनाउन विभिन्न क्षेत्रहरूमा राज्य सरकारसॅंग सहकार्यका लागि विश्वविद्यालयलाई धन्यवाद दिए। प्रत्येक वर्ष संस्थानबाट ठूलो संख्यामा चिकित्सकहरू निस्कनेछन् भन्दै राज्य सरकारले उनीहरूलाई राज्यभित्र नै समायोजित गर्न प्रर्याप्त पूर्वाधारहरू तयार गरिरहेको छ भनी उनले अवगत गराए। यस क्रममा उनले जिल्ला अस्पतालहरूको उन्नयन र कारफेक्टारमा प्रस्तावित क्यान्सन अस्पतालको उदाहरणहरू प्रस्तुत गरेका थिए। मुख्यमन्त्रीले विद्यार्थीहरूलाई यस अवसरको भरपूर फाइदा उठाउन अनि आफ्ना माता पिता र संस्थानको नाम रोशन गर्न आह्वान गरे। उनले नि:शुल्क एमबीबीए सीटको निम्ति कृतज्ञता गर्ने उत्कृष्ट उपायमाथि प्रकाश पार्दै विद्यार्थीहरूले आफ्नो पढ़ाई पूरा गरिसकेपछि कम्तिमा पॉंचजना बिरामीको जिम्मा लिन सक्छन् भनी बताए।
कार्यक्रमलाई शिक्षा मन्त्री केएन लेप्चा, एसएमयुका कूलपति लेफ्टिनेन्ट जेनरल (सेवानिवृत्त) डा. राजन एस. ग्रेवालले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा मन्त्री डा. एमके शर्मा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय आदि पनि उपस्थित थिए।

About Author

Advertisement