मुख्यमन्त्री द्वारा भावी प्राथमिकताहरुको समिक्षा बैठक सम्पन्न

FB_IMG_1768482384938

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमको विकास यात्रा, प्रमुख उपलब्धिहरू र भावी प्राथमिकताहरूको समीक्षा गर्न नीति आयोगका उपाध्यक्ष सुमन के. बेरीलाई भेट्ने सम्मान प्राप्त गरे। यो बैठक राज्यको प्रगति र दीर्घकालीन विकास दृष्टिकोणबारे विचार आदान प्रदान गर्ने एउटा महत्वपूर्ण अवसर रह्यो।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले, उपाध्यक्षद्वारा सिक्किमको उल्लेखनीय प्रगतिलाई विशेष रुपमा विशेषगरी प्रतिव्यक्ति आयमा राष्ट्रिय स्तरमै शीर्ष स्थान हासिल गरेको उपलब्धिको सराहना गरेको व्यक्त गरे । मुख्यमन्त्रीले यो उपलब्धि जनकेन्द्रित शासनप्रति सिक्किम सरकारको अटल प्रतिबद्धता, स्वास्थ्य, शिक्षा र वातावरणीय दिगोपनामा निरन्तर ध्यान केन्द्रित गरिएको परिणाम भएको कुरा साझा गरे।
संजालमा मुख्यमन्त्रीले जनाए अनुसार छलफलका क्रममा मुख्यमन्त्रीले धेरै महत्वपूर्ण चुनौतीहरू बारे विचार-विमर्श गरे जसमा कमजोर सडक सम्पर्कले पर्यटन क्षेत्रमा पारेको प्रभाव पनि समावेश थियो, जुन सिक्किमको अर्थतन्त्रको मेरुदण्ड हो। उनले दीर्घकालीन विकासलाई टेवा दिन र लचिलो यातायात सुनिश्चित गर्न राष्ट्रिय राजमार्ग–१० सँगै वैकल्पिक राजमार्गको अत्यावश्यक आवश्यकता रहेकोमा जोड दिए। साथै, सिक्किम १०० प्रतिशत जैविक राज्यको रूपमा निरन्तर रहने प्रतिबद्धता दोहोर्‍याउँदै किसानहरूले उचित र लाभदायक मूल्य पाउनका लागि बलियो ब्रान्डिङ, मार्केटिङ र शीत–भण्डारण (कोल्ड–चेन) पूर्वाधारमा केन्द्र सरकारको सहयोगको आग्रह गरे।
आजको बैठकमा शहरी भीडभाडसँग सम्बन्धित विषयहरूमा पनि छलफल भयो जसमा दिगो सहरी आवागमन, स्याटेलाइट टाउनको विकास र वैकल्पिक यातायात समाधानमा जोड दिइयो। ‘विकसित भारत’ र ‘विकसित सिक्किम’को साझा दृष्टिकोण अन्तर्गत सीमा व्यापार र सीमा पर्यटनलाई सुदृढ बनाउने विषयमा पनि छलफल गरेको बारेमा संजालमा मुख्यमन्त्रीले बताए। जसमा नाथुला व्यापार पुनःसञ्चालन र चेवाभञ्ज्याङ मार्ग मार्फत नेपालसँगको सीमापार व्यापार विस्तार समावेश छ।


अन्तमा मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गरे साथै उपाध्यक्षलाई उनको बहुमूल्य मार्गदर्शन र सुझावका लागि धन्यवाद दिँदै सिक्किमको समावेशी र दिगो विकासका लागि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे।

About Author

Advertisement