गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमे जनताको तर्फबाट पेरिस ओलम्पिकमा सहभागी बन्ने सबै भारतीय खेलाडीहरूलाई शुभकामना व्यक्त गरेका छन्। यस वर्षको ओलम्पिक पेरिसमा भइरहेको र उक्त खेलमा सिक्किमको छोरो तरूणदीप राईले पनि देशलाई प्रतिनिधित्व गरिरहेकोमा मुख्यमन्त्रीले गर्व महसुस गरेका छन्। खेलाडीहरूको अनुशासन, समर्पण र अथक प्रयासको कारण आज ओलम्पिकमा छनौट हुन पुगेका छन्, भने उनीहरूको यस प्रकारको मेहनतले नै यहाँसम्म पुग्न सफल बनेको बताएका छन्। देशको प्रतिनिधित्व गर्दै पेरिस पुगेका खेलाडीहरूलाई उनले उत्कृष्ट प्रदर्शन गर्दै नाम रोशन गर्ने आग्रह गरेका छन्। यसरी नै तरूणदीप राईलाई पनि उनले सिक्किम राज्य उनको पक्षमा रहेको र उनको उपलब्धिमा सिक्किम लगायत देशले नै खुशी मनाउने जानकारी गराएका छन्। पद्मश्री पुरस्कारले सम्मानित तरूणदीप राईले पेरिस ओलम्पिकमा भाग लिनु भनेको सबैको लागि गर्व र सम्मानको क्षण रहेको मुख्यमन्त्री तामाङले आफ्नो फेसबुक पेज मार्फत उल्लेख गरेका छन्।










