गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एसडीएफ सरकारको समयमा भएका हत्या, हिंसा, कुटपिट र तोडफोडका घटनाहरू पूर्व सरकार र पवन चामलिङको जिम्मेवारी रहेको आरोप लगाएपछि सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले कडा आपत्ति जनाएको छ।
एसडीएफले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ कि यदि एसडीएफ सरकारले ती घटनाहरू घटाएका हुन् भने वर्तमान एसकेएम सरकारले ती सबै केसहरू रि-ओपन गरेर कानुनी कारबाही अघि बढाउन सक्छ। एसडीएफ वरिष्ठ उपाध्यक्ष (प्रचार) कृष्ण खरेलले मुख्यमन्त्रीका आरोपहरू राजनीतिक रङ दिएको भन्दै आलोचना गरेका छन्।
एसडीएफले प्रश्न उठाएको छ कि सिक्किमको पुलिस प्रशासन र न्याय प्रणालीले किन मुख्यमन्त्रीका आरोपलाई गम्भीरतापूर्वक नलिएको भन्ने विषयमा। पार्टीले प्रहरी र अदालतलाई सुमोटो केस दर्ता गरी कारबाही अघि बढाउन आग्रह गरेको छ।
रम्फूमा हिजो आयोजित कार्यक्रममा मुख्यमन्त्रीले एसडीएफमाथि आरोप दोहोर्याए। एसडीएफले भनेको छ, “यदि ती आरोप सत्य हुन् भने पीडितलाई न्याय दिलाउने पहलमा हामी पूर्ण सहयोग गर्न तयार छौँ। तर यदि राजनीतिक रङ र जातीय भावनालाई उक्साउने उद्देश्यले बयान दिइएको हो भने त्यसलाई निन्दनीय ठान्छौँ।”
पार्टीको भनाइ अनुसार एसकेएम सरकार गठन भएको सात वर्ष बितिसकेको छ, तर अहिले सम्म आरोप मात्र लगाएर घटनालाई रफादफा गरिएको छ। एसडीएफले वर्तमान सरकारसँग दोषीहरू विरुद्ध छिटो कारबाही अगाडि बढाउन जोडदार माग गरेको छ।









