गान्ताेक: सिक्किमका जनताको तर्फबाट उत्तर–पूर्वी क्षेत्रलाई विशेष प्राथमिकता दिएको तथा विशेषगरी बौद्ध परिपथ विकास योजना घोषणा गरेकोमा केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारामन तथा केन्द्रीय सरकारप्रति सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले हार्दिक कृतज्ञता व्यक्त गरे।
उनले थेरवाद तथा महायान- वज्रयान परम्पराहरूको सभ्यतागत संगमका रूपमा उत्तर–पूर्वी क्षेत्रलाई गरिएको मान्यता, साथै बौद्ध तीर्थस्थल तथा गुम्बाहरूको संरक्षण, यातायात तथा सम्पर्क सुदृढीकरण र तीर्थयात्री सुविधाहरूको अभिवृद्धि गर्ने प्रस्तावले सिक्किमको समृद्ध सांस्कृतिक तथा आध्यात्मिक विरासतसँग गहिरो सम्बन्ध राखेको र यसलाई यहाँका जनताले अत्यन्तै स्वागत गरेको जनाए।
मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै यी पहलहरूको निरन्तरतामा केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारामनसँग भेटघाट गरी सिक्किम राज्यसँग सम्बन्धित विभिन्न विकासात्मक विषयहरूमा अर्थपूर्ण तथा सकारात्मक छलफल गर्न पाउनु उनको लागि ठूलो सम्मान र गौरवको विषय रहेको व्यक्त गरे।उनले भने उक्त संवाद उहाँको गहिरो दृष्टि, दृढ प्रतिबद्धता तथा समावेशी, सन्तुलित र दिगो विकासप्रतिको निरन्तर समर्थनलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ।
मुख्यमन्त्रीले सिक्किम राज्यको प्रगति, समृद्धि तथा समग्र जनकल्याणका लागि अत्यन्त महत्वपूर्ण विषयहरूमा केन्द्रीय सरकारबाट प्राप्त सद्भावपूर्ण ध्यान र मूल्यवान मार्गदर्शनप्रति गहिरो रूपमा आभारी रहेको बताए।
अन्तमा मुख्यमन्त्रीले यस अवसरमा, दूरदर्शी नेतृत्व तथा निरन्तर प्रेरणाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार व्यक्त गर्दै प्रधानमन्त्रीको मार्गदर्शनमा सिक्किम जस्ता राज्यहरूले सर्वाङ्गीण र जनमुखी विकासका लागि निरन्तर सहयोग र प्रेरणा प्राप्त गरिरहेका छन् भने।










