सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा दलसिंगपाड़ा फूटबल एकाडमी (डीएसए)-ले सेमिफाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा सोमवार भएको चौथो क्वार्टर फाइनल म्याचमा डीएसए-ले जर्जियन फूटबल क्लबविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट हेमराज भुजेलले सातौं र ६९औं मिनटमा २ गोल गरे। यसरी जर्जियन एफसी-को तर्फबाट कोण्टीले २३औं मिनटमा गोल गरे। विजेता टीमका प्रदीम लामालाई प्लेयर अव् द म्याच चयन गरियो। बुधवार खेलिने पहिलो सेमिफाइनल म्याचमा तरुञ्जाबारी फूटबल क्लब र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल बिहीवार डीएसए र जलपाइगढ़ी पुलिसबीच खेलिनेछ। टुर्नामेण्टको फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।









