सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा बुधवार भएको म्याचमा डीएसए-ले डेञ्जोंग बोयज फूटबल क्लब (सिक्किम)-विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिनित लोहारले ७५औं मिनट र इञ्ज्युरी टाइमको तेस्रो मिनटमा २ गोल गरे। यसबाहेक हेमराज भुजेलले ५७औं र योनतेन लामाले ८२औं मिनटमा गोल गरे। बिनित लोहारलाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार कुनै म्याच छैन। शुक्रवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा तरुञ्जाबारी फूटबल क्लब र क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।









