मिरिक: मिरिकको कृष्णनगरस्थित भूतपूर्व सैनिक भवनमा हिमालयन ड्राइभर एण्ड अनर एशोसिएसनको सभा सुभम तामाङको सञ्चालन अनि शरण लेप्चाको अध्यक्षतामा सम्पन्न भयो। सभामा संगठनका केन्द्रिय समितिका सभापति दिवस लामा, सचिव राहुल सारसर, सदस्यहरू दिपङकर सिंह मुखिया, गौतम शेर्पा, अजय घिसिङ लगायत मिरिक क्षेत्रका चालक एवं मालिकवर्गको उपस्थिति रहेको थियो। सभामा मिरिकमा पनि हिमालयन ड्राइभर एण्ड अनर एशोसिएसनको शाखा गठन गर्नेबारे छलफल भएको बताइएको छ। जसमा मिरिक भेल्लीका लागि प्रदीप प्रधान, रोसदेन तामाङ र रोशन प्रधानलाई क्षेत्रीय संयोजकको रूपमा चयन गरिएको छ। यसरी नै सभामा उपस्थित हिमालयन ड्राइभर एण्ड अनर एशोसिएसन केन्द्रिय समितिका सभापति अनि सचिवले संगठको मूल उद्धेश्य र यसको नियमवालीहरूबारे उपस्थित क्षेत्रीय चालक अनि मालिकबारे विस्तृत रूपमा जानकारी गराएका छन्। यसरी नै मिरिकमा रहेका अन्य चालक एवं मालिकवर्गलाई संगठनको सदस्यता लिनु चाहेको खण्डमा चाँडो सम्पर्क गरिदिने मिरिक क्षेत्रका संयोजक प्रदीप प्रधानले आह्वान गरेका छन्।











