मिरिकमा पार्वत्य माध्यमिक सेवानिवृत्त शिक्षक संगठनकाे अभिनन्दन कार्यक्रम सम्पन्न

IMG-20240501-WA0191.jpg

मिरिक: पार्वत्य माध्यमिक सेवानिवृत्त शिक्षक संगठनले आज मिरिकको कृष्णनगरस्थित एक हाेटलमा अभिनन्दन कार्यक्रमकाे आयाेजना गरेको छ। संगठनका अध्यक्ष एंव फुवागढी उमाविका भूतपूर्व प्रधान अध्यापक राजबहादुर राईकाे अध्यक्षता अनि भूतपूर्व शिक्षिका शिला लामाकाे सञ्चालनमा भएकाे कार्यक्रममा संगठनका सचिव एंव मिरिक उमाविका भूतपूर्व शिक्षक प्रभारी वाईएन ढकालले स्वागत सम्बाेधन गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई स्वागत जनाएका थिए। साेही अवसरमा ढकालले कार्यक्रमकाे ओैचित्य र वर्तमान शिक्षा प्रणालीबारे जानकारी गराए। कार्यक्रममा मिरिकका सेवानिवृत्त शिक्षकगणमध्ये अस्सी बसन्त पूरा गरेका चारजना शिक्षकगणलाई सम्मान र सम्बर्द्धना गरिएको छ। जसमा मिरिक उमाविका भूतपूर्व शिक्षकहरू बीएन शर्मा, कालुसिंह तामाङ र शुभचन्द्र गुरुङ अनि रबीन्द्रनाथ उच्च विद्यालय सौरेनीका भूतपूर्व शिक्षक डीआर बम्जन रहेका थिए। उनीहरूलाई अङ्ग वस्त्र, स्मृति चिन्ह, अभिनन्दन पत्र खदा आदि प्रदान गरेर सम्मान गरियाे। यस समारोहमा तकदा ग्रिफिक उच्च विद्यालयका पूर्व प्रधान अध्यापक लोक थापा अनि यसै विद्यालयका वर्तमान प्रधान अध्यापक भीम प्रधान अनि थर्बु प्राथमिक पाठशाला दाेस्राे शाखाका पूर्व प्रधानाध्यापक प्रेमकुमार स्याङ्बाे, विशिष्ट अतिथि अनि अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमलाई रोचक बनाउन शिक्षक योगेन्द्र खातीले गीत गाएर सबैलाई मनाेरञ्जन गराएका थिए। यस अवसरमा बाेल्दै संगठनका अध्यक्ष राजबहादुर राईले अस्सी वर्ष पुगेका शिक्षक शिक्षिकाहरूलाई सम्मान गर्न पाउँदा अति खुशी लागेकाे बताउँदै संगठनले भविष्यमा पनि यस्ता थुप्रै कार्यक्रमहरू गर्ने याेजना तयार पारेकाे छ भनी बताएका छन्।उनले संगठनले दशाैं, एघारौं अनि बाह्रौं श्रेणीका विद्यार्थीहरूलाई सहभागी गराई एउटा शिक्षामूलक कार्यक्रम पनि याेजना तयार पारेका छाैं भन्दै भविष्यमा नब्बे वर्ष पुगेका शिक्षक शिक्षिकाहरूलाई सम्मान जनाउने कार्यक्रम पनि रहेकाे बताए।

About Author

Advertisement