मिरिकमा खरसाङका साहित्यकार एवं कथाकार निरङ्कर थापालाई चौथो शशिप्रभा स्मृति पुरस्कार प्रदान

IMG-20251227-WA0087

मिरिक: मिरिकको एक साहित्यिक कार्यक्रममा खरसाङका साहित्यकार एवं कथाकार निरङ्कर थापालाई चौथो शशिप्रभा स्मृति पुरस्कार २०२५ प्रदान गरिएको छ। साहित्य सुनौँ परिवार मिरिक र रिपोर्टर्स क्लब मिरिकको आयोजना सम्पन्न उक्त कार्यक्रममा उनलाई उनको उपन्यास कृति ‘मार्साङ’ को लागि उक्त पुरस्कार प्रदान गरिएको छ। यस पुरस्कारमा खदार्पणसहित टोपी पहिराएर, दोसल्ला ओढाएर साथै पुरस्कार चिन्ह र नगदराशि पचास हजार रुपियाँ पनि प्रदान गरिएको छ। उक्त चौथो शशिप्रभा स्मृति पुरस्कार अलङ्करण समारोहको अध्यक्षता साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष अमर दुङमाली राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्राध्यापक डा कबीर बस्नेत उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा, गोर्खा जनपुस्तकालय खरसाङको सचिव एवं कवि विनोद रसाइली, पुरस्कारको एकजना जुरी अरुणचन्द्र कुलुङ, साहित्यकार राजबहादुर राई लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट जातीय कवि अगमसिंह गिरी र स्व शशिप्रभा बान्तावाको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरी थालिएको थियो। कवि एवं पत्रकार मुस्कान राई खेसहाङ र अजम प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साहित्य सुनौँ परिवारको सचिव वाईएन ढकालले राखेका थिए। कार्यक्रममा कलाकार कैलाश राईले सेक्सोफोनमा धुन बजाएका थिए भने गायिका भावना थापाले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा शशिप्रभा स्मृति पुरस्कारको प्रायोजक एंव वरिष्ठ साहित्यकार बिजय बान्तावा कैलाशीले आफ्नी पत्नी शशिप्रभा स्मृति पुरस्कार शुरु गरिएको र यसलाई निरन्तर रुपमा विवादरहित बनाउन कार्य गरिएको जानकारी गराएका छन्। यसै कार्यक्रममा दुई चरणमा कवि गोष्ठीको पनि आयोजना गरिएको थियो जसमा कविहरु क्रमैले महेन्द्र स्याङ्बो, शरद सुब्बा, पी लक्की शेर्पा, कविता राई ‘गाउँले’, विनोद रसाइली, सबीर दिलपाली, शान्ता प्रकाश राई र पवित्र लामाले कविताहरु पठन गरेका थिए। यसै कार्यक्रममा साहित्य सुनौँ मिरिकको पत्रिका ‘सन्दुक’ को पनि अतिथिहरुका बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रममा चौथो शशिप्रभा स्मृति पुरस्कार प्रापक कथाकार निरङ्कर थापाले आफ्नो सम्बोधनमा पुरस्कारले अझ लेख्नु पर्ने दायित्व थपिएको बताउँदै पुरस्कारको लागि धन्यवाद दिएका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्राध्यापक डा कबीर बस्नेत र सभाध्यक्ष अमर दुङमालीले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा एकजना जुरी अरुणचन्द्र कुलुङलाई प्रायोजकको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा उनले सम्बोधन पनि गरेका थिए। कार्यक्रममा पुरस्कार प्राप्त निरङ्कर थापाको उपन्यास ‘मार्साङ’ माथि प्रवेस हाङखिमले टिप्पणी राखेका थिए। उल्लेखनीय छ बिजय बान्तावा कैलाशीले आफ्नी पत्नी शशिप्रभा बान्तावाको नाममा विगत चार वर्षदेखि शशिप्रभा स्मृति पुरस्कार शुरु गरेका थिए। यसपाली पुरस्कारको लागि आएको ६५ वटा कृतिहरुमा १० वटा चयन भएका थिए। यसबाट तीनजना जुरीहरु क्रमैले डा सञ्जय बान्तावा, प्राध्यापक मेघनाथ छेत्री र अरुणचन्द्र कुलुङद्वारा खरसाङका साहित्यकार निरङ्कर थापाद्वारा लिखित उपन्यास ‘मार्साङ’ लाई पुरस्कारको लागि चयन गरिएको छ।

साहित्यकार निरङ्कर थापाको पहिलेबाटै कथा संग्रहहरु क्रमैले ‘पछि फर्केर हेर्दा'(२०१३), ‘झरेको फूल’ (२०१५), ‘एक छिमल जीवन’ र ‘मोह रंग’ (दुवै २०१८) प्रकाशित छन्।

About Author

Advertisement