काठमाडौं: माघ १ गते प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’सँगै दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी फेरि दोहोरिँदै छ। यसअघि उनीहरू चलचित्र ‘कार्साङ्’मा सँगै देखिएका थिए। संयोग के छ भने दुवै चलचित्रका निर्देशक एउटै— यम शेर्पा।
‘कार्साङ्’ पछि यम शेर्पाले आफ्नो दोस्रो निर्देशकीय चलचित्र ‘मिरमिरे’मा पनि दयाहाङ–सिर्जनालाई नै रोजेका छन्। निर्देशक यमका अनुसार यो छनोट संयोग मात्र होइन, कथाको माग र कामको सहजतासँग जोडिएको निर्णय हो।
“एकपटक सँगै काम गरिसकेपछि कलाकारको काम गर्ने शैली, आनीबानी र सोच थाहा भइसकेको हुन्छ,” यम भन्छन्, “दोस्रो कुरा दयाहाङ राई सर्वप्रिय नायक हुनुहुन्छ। सिर्जनासँग पनि पहिल्यै काम गरिसकेको हुँदा सहज हुन्छ भन्ने लाग्यो।”
उनका अनुसार ‘मिरमिरे’को कथाले पनि दयाहाङ र सिर्जनाजस्तै पात्र माग्थ्यो। “स्क्रिप्ट लेख्दै गर्दा नै मेरो दिमागमा दयाहाङ–सिर्जना थिए,” यम स्पष्ट पार्छन्। यसरी निर्देशक र मुख्य कलाकारबीचको त्रिकोणात्मक सहकार्य फेरि दोहोरिएको हो।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै प्रकाश सपूत पनि मुख्य भूमिकामा छन्। दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। चलचित्रमा शाइसा गौचनले दयाहाङकी छोरीको भूमिका निर्वाह गरेकी छन्।
सार्वजनिक टिजरले छोरीका लागि बुवाले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ। आमाले घर छोडेपछि छोरी र बुवाबीचको सम्बन्ध, बुवाले एक्लै सम्हाल्नुपर्ने घर, जागिर र छोरीको स्याहार— यी सबै पक्षलाई चलचित्रले भावनात्मक ढंगले देखाउने संकेत टिजरमा गरिएको छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका रोहित कट्टेल हुन्।
देशभर ‘मिरमिरे’को वितरण जिम्मा आरआर फिल्म्स (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले लिएको छ। निर्माण टिम छोरी–बुवाको भावनात्मक कथाले दर्शकको मन छुनेमा ढुक्क देखिन्छ।









