२ सय २० रूपियाँको रोजीले घर चलाउन सक्दैन मिनिमम वेजेस अविलम्ब लागु गर: डीके गुरूङ
दार्जिलिङ: मिनिमम वेजेस लागि गर्ने मागमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा दार्जीलिङमा जुलुसको आयोजना गरिएको छ। दार्जीलिङ बजारमा श्रमिक एकताको नारासहित इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले मिनिमम वेजेसको माग गर्दै सोमवार रैली निकालेको छ। बजारको माल रोडस्थित हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय कार्यालय पी कोठीबाट श्रमिक संघले रैली निकालेको थियो। रैलीले शहरको चौरस्ता,नेहरू रोड हुँदै दार्जीलिङ टी ऐसोसिएशनको कार्यालयसम्म पुगेको थियो।रैलीमा सामेल भएका समर्थकहरूले मजदुर एकता जिन्दाबाद, मिनिमम वेजेज लागु गर जस्ता नाराहरू लगाएका थिए। यस रैलीमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स पनि उपस्थित रहेका थिए। यसै सन्दर्भमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले पत्रकारहरूसँगको कुराकानीमा पहाड तराई डुवर्सको चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्ने माग गर्दै हामीले गत १९ जनवरीदेखि धारावाहिक कार्यक्रमहरू गर्दै आइरहेको बताएका छन। उनले आफुहरुले राँके जुलुस,धरना प्रदर्शन आदि जस्ता कार्यक्रमहरू अघिबाट गरिसकेको र यसै क्रममा आज हामीले दार्जीलिङ टी ऐसोसिएशनको कार्यालय पुगेर सन्दीप मुखर्जी,त्यसरी नै इण्डियन टी ऐसोसिएशनको मोहन छेत्री साथै जीटीएको अतिरिक्त श्रमायुक्तसंग भेट गरेर मिनिमम वेजेसको माग गर्दै ज्ञापन पत्र चढाएको पनि उनले बताएका छन्। अध्यक्ष गुरूङले भने, चिया श्रमिकहरूले २ सय ५० रूपियाँ दैनिक ज्याला पाउँछन् त्यसमा ३० रूपियाँ पीएफको लागि काट्दा २ सय २० रूपियाँ श्रमिकहरूको हात पर्छ तर अहिलेको महंगाई जमानामा २ सय २० रूपियाँले हाम्रो श्रमिकहरूले परिवारको पालन पोषण गर्न धेरै साह्रो पर्छ। त्यसकारण हामीले मिनिमम वेजेस लागु गर्ने माग गरेका हौं। चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्नुपर्छ भन्ने माग गर्दै राज्यको श्रम मन्त्रालयदेखि लिएर सम्बन्धित विभागीय अधिकारीहरूलाई पत्रचार,ज्ञापन पत्र धेरै पटक चडाई सकेका छौं। तर सरकारले हाम्रो मागलाई वास्ता गरेको छैन। श्रमिकहरूले जे जति सहनु थियो त्यो सहँदै आइरहेको छ। तर सहनुको पनि सिमा हुन्छ। तर यहाँ हद पार गर्ने सीमा नाघिसकेको छ। गुरुङले अघि भने, चिया श्रमिकहरूलाई आठ घण्टामा बगानमा जोताएर मालिकहरू चाहिँ आराममा बस्ने यो त भएन। यस्तो शोषण अब सहन गरिने छैन। चिया श्रमिकहरूको मिनिमम वेजेसको समस्यालाई समाधान गर्न सरकारले विगत धेरै वर्ष अघि नै एडभाइजरी कमिटी गठन गरेको छ अनि एडभाइजरी कमिटीले धेरैवटा बैठकहरू गर्दै आएको छ अनि ती बैठकहरूमा के भयो?यसबारे श्रमिकहरूलाई किन बताएको छैन भन्दै गुरूङले प्रश्न तेर्साए।मिनिमम वेजेसको विषय लिएर श्रमिकहरू सचेत भएर सडकमा ओर्लिएको छ, चिया श्रमिकहरूले जबसम्म न्याय पाउँदैन तबसम्म हामी हाम्रो कार्यक्रमलाई जारी राख्ने छौ गुरूङले बताए।बगान मालिकहरूले श्रमिकहरूको अनुउपस्थिति देखाउदै बगान नोक्सानमा रहेको गुनासो पोख्छ तर अहिलेको महंगाई जमनामा २ सय २० रूपियाँले घर परिवारको पालन पोषण गर्न सक्दैन त्यसकारण उनीहरू रोजगारको लागि बाहिरो गएको हो। मिनिमम वेजेसको माग लिएर हामीले राज्यको श्रम मंत्रीसंग पनि भेटेर कुराकानी गर्यौं अनि अविलम्ब मिनिमम वेजेस लागु गर्ने माग गर्यौ तर आजसम्म श्रमिकहरूले न्याय पाएको छैन। देशको प्रायः सबै उद्योग तथा कम्पनीहरूमा मिनिमम वेजेस लागु गरिएको छ,यहाँसम्म की विडी कम्पनीमा पनि मिनिमम वेजेस जारी गरिएको छ तर चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्न सरकारलाई के असुविधा छ?, भन्दै अध्यक्ष गुरूङले प्रश्न तेर्साए।

चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्ने माग लिएर हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको टोली यसै फरवरीको अन्ततिर कोलकता जाने संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताए।










