काठमाडौं: मध्यपूर्वमा बढ्दो राजनीतिक र सैन्य तनावको प्रभाव काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टीआईए)
को सञ्चालनमा परेको छ। यसका कारण सयौं अन्तर्राष्ट्रिय यात्रुहरू अलपत्र परेका छन्।
खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू- शारजाह, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी र दमाममा उडान स्थगित भएपछि काठमाडौंका अन्तर्राष्ट्रिय उडानहरू पनि रद्द भएका छन्। शनिबारदेखि नै यात्रुहरू विमानस्थलमा रोकिएका थिए भने आइतबार बिहान पनि धेरै यात्रुहरू अन्योलमा प्रतीक्षारत देखिएका छन्। टर्मिनल परिसरका विभिन्न स्थानहरूमा उडान रद्द भएको सूचना टाँसिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको सूचनाअनुसार अर्को आदेश नआएसम्म कतर एयर, फ्लाइ दुबई, एमिरेट्स एयर, कुवेत एयर, एयर अरेबिया लगायत नेपालबाट खाडी मुलुक जाने हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सका उडानहरू रद्द भएका छन्।
विमानस्थल स्रोतका अनुसार यात्रुहरूको सुविधा र सुरक्षा सुनिश्चित गर्न अतिरिक्त कर्मचारी परिचालन गरिएको छ। यात्रुहरूलाई सम्भावित विकल्प र सूचना प्रदान गर्न एयरलाइन्स र विमानस्थलले समन्वय गरिरहेको छ।









