मिजोरम विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा खरसाङकी ममता गुरुङले पूरा गरिन् पीएचडी

IMG-20220527-WA0127.jpg

खरसाङ: पश्चिम बंगाल राज्य अन्तर्गत दार्जिलिङ पहाड़को चियाबारी श्रमिकहरूमाथि अर्थशास्त्रमा पहाड़की छोरी ममता गुरुङले आफ्नो पीएचडी डिग्री पूरा गरेकी छन्। खरसाङको कटरेली निवासी पिता स्व महेश गुरुङ र माता ग्रेसी भोटियाकी सुपुत्री एंव हालमा सिविटार चियाबारीको कोठीडाँड़ा निवासी डा दिव्य प्रकाश राईसित विवाह गरेकी ममता गुरुङले अर्थशास्त्र विषयमा मिजोरम विश्वविद्यालयबाट आफ्नो पीएचडी पूरा गरेकी छन्। उनले अर्थशास्त्र विषयमा मिजोरम विश्वविद्यालयको प्रोफेसर जेम्स एलटी थाङ्गाको देखरेखमा सन् २०१५ सालदेखि आफ्नो शोध कार्य शुरु गरेकी थिइन्। ममता गुरुङले अर्थशास्त्रमा “लाइभलीवुड डाईभरसीफिकेशन अमोङ्ग टी प्लान्टेशन वर्कर्स वेस्ट बेंगाल : अ केस स्टडी अफ् दार्जिलिङ हिल्स” नामक विषयमा लगभग सात वर्ष लगाएर आफ्नो पीएचडी पूरा गरेकी छन्। आफ्नो शोध कार्यको अवधि ममता गुरुङले युजीसी भारत सरकारबाट मौलाना आजाद राष्ट्रीय फेलोशिप पाएकी थिइन्। यसावधि उनले आफ्नो शोध कार्यको समय पाँचवटा जति शोध पेपरहरू ईन्टरनेशनल जर्नलतिर प्रकाशित गरिसकेकी थिइन् भने उनले राष्ट्रीय र अन्तर्राष्ट्रीय लेवलको सेमिनारतिर पनि आफ्नो शोध कार्यको पेपरहरू प्रस्तुत गरिसकेकी छन्। ममता गुरुङले २००३ मा खरसाङको हिमाली बोर्डिङ स्कूलबाट आईसीएससी उत्तीर्ण गरेकी थिइन् भने खरसाङको सन्त अल्फन्सेस विद्यालयबाट २००५ मा उच्च माध्यमिक परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनले सिलगढी महाविद्यालयबाट स्नातक उत्तीर्ण गरी उत्तर बंगाल विश्वविद्यालयबाट स्नातकोत्तर र एमफिल्ड पुरा गरेकी थिइन्। त्यसपछि उनले अर्थशास्त्र विषयमा पीएचडी कार्य मिजोराम विश्वविद्यालयबाट पूरा गरेकी छन्। सानैदेखि पढ़ाईंमा अब्बल रहेकी ममता गुरुङले अर्थशास्त्र विषयमा आफ्नो पीएचडी पूरा गरेर आफ्नो परिवार साथै सिविटार चियाबारी लगायत खरसाङ र दार्जिलिङ पहाड़लाई गौरान्वित बनाएकी छन्। ममता गुरुङले अर्थशास्त्र विषयमा पीएचडी पूरा गर्नको साथै सिविटार चियाबारीमा अझ एकजना डक्टरेट डिग्री थपिएको छ। उनीभन्दा पहिला ममता गुरुङकै पति एंव सिविटार चियाबारी निवासी मोहन राईको सुपुत्र डा दिव्य प्रकाश राईले पनि भौतिक विज्ञानमा आफ्नो पीएचडी पूरा गरेका थिए। अब सिविटार चियाबारीमा पीएचडीकर्ता दुईजना भएका छन्।

About Author

Advertisement