मालिक पक्षबाट लङ्भ्यु चियाबारी बन्दको नोटिस

IMG-20241015-WA0224

बगान खोलाउन राजनैतिक दलहरूका ट्रेड युनियनहरू लागि पर्ने आह्वान्

खरसाङ: श्रमिकहरूले केवल १० प्रतिशत मात्र बोनस दिएको विरोधमा चलिरहेको अनशनबीचमा मालिक पक्षले आज लङ्भ्यु चियाबारी बन्दको सूचना टाँसेकोले आजदेखि लङ्भ्यु चियाबारी बन्द भएको छ। लङ्भ्यु चियाबारीमा श्रमिकहरूद्वारा गरिरहेको अनशनको आठौं दिन मालिक पक्षले विभिन्न कारणहरू देखाएर नोटिस टाँसेका छन्। लङ्भ्यू चियाबारीमा मालिक पक्षबाट बगान निलम्बनको सूचना (ससपेन्सन नोटिस) टाँसेको छ। उक्त नोटिसमा बारम्बार चिया बगानमा घेराऊ, धम्की, काम नगर्ने वा आंशिक कार्य गर्ने तथा गेट मिटिङ गरेर दैनिक व्यवस्थापन कार्यमा युनियनको हस्तक्षेप लगायतका घटनाहरूको उल्लेख गर्दै अनुशासनहीन कार्य गरेको भनी जनाइएको छ। विशेषगरी यहाँ एउटा श्रमिक संगठन हिल प्लान्टेशन इम्प्लोइज युनियनका दुइ प्रतिनिधिहरू लगायत स्थानीय प्रतिनिधिहरूले गत २१ अक्टोबर २०२४ देखि लगातार रूपमा आन्दोलन अनि घेराऊ शुरु गरेको र यस्तो अवस्थामा व्यवस्थापनले बगान स्तरका सबै गतिविधि स्थगित गर्ने निर्णय गरेको जनाउँदै अघिल्लो सूचना नआएसम्म बगान बन्द गर्ने निर्णय लिएको बताइएको छ। यसै विषयलाई लिएर आज कार्यालय अघि आज केहीबेर तनावको स्थिति पनि देखियो। विशेष गरी यहाँका सबै राजनैतिक पार्टीहरूका श्रमिक संगठनको एउटा साझा मञ्चले आरोप लगाए अनुसार लङ्भ्यूमा श्रमिकहरूलाई कसैको सर-सल्लाह नगरी एचपीइयुले अचानक यसरी भोक हड्ताल राखेको हुँदा यस्तो स्थिति सृजना भएको भन्दै अब यसको जिम्मेवार कसले लिने भनी प्रश्न गरेका छन्। यसै विषयहरूलाई लिएर यहाँ केहीबेर चर्को तर्कातर्की पनि भयो। पछिबाट यसबारे दुवै पक्षका प्रतिनिधिहरूले बगान बन्दबारे आ-आफ्नो प्रतिक्रियाहरू व्यक्त गरेका छन्। मालिक पक्षले बगान बन्दको नोटिस टाँसेपछि तनावपूर्ण स्थितिमाझ विभिन्न राजनैतिक पार्टीहरूका प्रतिनिधिहरू र ट्रेड युनियन प्रतिनिधिहरू उपस्थित रहेका थिए। विशेष गरेर क्षेत्रीय सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाईली, भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ, संयोजक तथा पञ्चायत प्रधान मणिराज डुम्जन, पञ्चायत समिति सदस्य मौसम तामाङ, गारोमुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामा, गोरामुमोको ट्रेड युनियनको सचिव बीरेन्द्र छेत्री, हिल प्लान्टेशन इम्प्लोइज युनियन केन्द्रीय समितिको तर्फबाट छेवाङ योञ्जन र सुमेन्द्र तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको कार्यकारी सभासद एंव पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको सभासद कल्पना प्रधानले विभिन्न राजनैतिक पार्टीहरूका युनियनहरूसित सर सल्लाह नगरी अनशन गरेकोले यो स्थिति भएको बताउँदै आफु २०२२ मा यस क्षेत्रको सभासद भएपछि लङ्भ्यु चियाबारीको लगातार रूपमा कार्य गरिरहेको र बगानको विषयमा नै हिजो मात्रै आफ्नै अगुवाईमा दार्जिलिङका जिल्लापालसित भेट गरी ज्ञापन दिने कार्य गरिएको जानकारी गराइन्। उनले अनशनमा बस्न अघि नियम पालन गरेको हुनुपर्छ, अनुमति लिएको हुनुपर्छ र सबैसित सर सल्लाह गरेको हुनुपर्छ भनी बताएकी छन्। सभासद कल्पना प्रधानले भनिन् – ‘म यही बगानको हुँ, यसै क्षेत्रका जनताले भोट दिएर जिताएको हो र मैले लगातार रूपमा कार्य गर्दै आईरहेको छु। तर यहाँ एउटै युनियनले अनुशासनहीन रूपमा काम गरेकोले कमान बन्द भएको हो। कमान बन्द भएपछि अब जिम्मेवारी कसले लिन्छ? बगानको समस्या समाधानको लागि हामी कानुनी रुपमा अघि बढ्नुपर्छ। तर कोही नभएको बगानको कार्यालय अघि अनशनमा बसेर केही हुँदैन।’
उनले अझ भनिन्, ‘हामी सबै एक भएर कमान खोलाउनतिर लाग्नुपर्छ। श्रमिकहरूको हक र अधिकारको लागि कार्य गर्नुपर्छ। कसरी हुन्छ बगान खोलाउनको लागि सरकार र मालिकको दैलो ढक ढकाएर साथै एक साथ मिलेर बगान खोलाउन अब लागि पर्नुुपर्छ।’

यसै विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल प्लान्टेशन इम्प्लोइज युनियनको केन्द्रीय पदाधिकारीहरू क्रमैले सुमेन्द्र तामाङ र छेवाङ योञ्जनले लङ्भ्यु चियाबारीमा १७ करोड़ रहल रहेको र हाम्रो युनियनको वृहत् आन्दोलनपछि 50 लाख हालिएको तर अझैं धेरै रहल रहेको बताएका छन्। सुमेन्द्र तामाङले एग्रिमेन्ट विफल भएको र यस विफल हुनुमा मालिक पक्षको हैकमवाद हो भनी बताएका छन्। उनले बगानमा मालिकले जुन नोटिस टाँसेको छ त्यो अचम्मको छ कारण आन्दोलन गर्दा हिल प्लान्टेशन इम्प्लोइज युनियन मात्र होइन तर अन्य राजनैतिक दलहरूका ट्रेड युनियनहरू पनि सामेल थिए तर मालिकले केवल हिल प्लान्टेशन इम्प्लोइज युनियनलाई मात्र लक्ष्य गर्नु मालिकको हैकमवाद स्पष्ट भएको छ भनी बताएका छन्। उनले भने, ‘श्रमिकहरू कुनै पनि राजनैतिक दलका झण्डाबिना नौ आफै अनशनमा बसेका थिए र दशैंको टिकाको दिन हामी पनि सामेल भएका थियौं। तर यसरी मालिक पक्षले व्यक्तिगत रूपमा तारगेट गर्नु मालिक पक्ष हिल प्लान्टेशन इम्प्लोइज युनियनसित डराएको हो।’

यसै क्रममा हिल प्लान्टेशन इम्प्लोइज युनियनको छेवाङ योञ्जनले नोटिस टाँस्नु मालिकले अगणतान्त्रिक रूपमा कार्य गरेको भन्दै मालिक पक्षले वार्ताको बाटो खुल्ला राख्नुपर्छ र डायलग ओपेन गर्नुपर्छ भनी बताएका छन्। उनले एउटा मात्र युनियनलाई लक्ष्य गर्नु मालिकको हैकमवाद हो भनी बताएका छन्।

About Author

Advertisement