‘मालती मङ्गले’ प्रेमिल र सामाजिक चलचित्र हो, सबैले हेरि दिनु होला: रामकृष्ण ढकाल

IMG-20260421-WA0077

बिर्तामोड(नेत्र बिक्रम बिमली): वरिष्ठ गायक तथा चलचित्र प्रस्तुतकर्ता रामकृष्ण ढकालले नेपाली कथानक चलचित्र ‘मालती मङ्गले’ एक पूर्ण पारिवारिक र सामाजिक कथावस्तुमा आधारित रहेको बताउनुभएको छ। गोर्खा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मे ८ देखि देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुन लागेको यस चलचित्रलाई माया गरिदिन दर्शकहरूसँग आग्रह गर्नुभयो।
​प्रस्तुतकर्ता ढकालले चलचित्रमा प्रेमिल भावनाका साथै समाजको यथार्थ चित्रण गरिएको उल्लेख गर्नुभयो। हाँसो र रोदनको सन्तुलित सम्मिश्रण रहेको यस चलचित्रका गीतहरूले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो। यो सबै उमेर समूह र प्रकारका दर्शकले हेर्न मिल्ने गरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।
​पत्रकार सम्मेलनमा बोल्दै कलाकार विजय बरालले चलचित्र ‘मालती मङ्गले’ ले समसामयिक घटनाहरूलाई उठान गरेकाले यसले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने दाबी गर्नुभयो। नायिका वर्षा राउतले चलचित्रको कथावस्तु र प्रस्तुतिले दर्शकहरूलाई पूर्ण न्याय दिलाउने विश्वास व्यक्त गर्नुभयो। अर्का कलाकार म्याक्सम गौडेलले आफू यसपटक फरक र विशेष भूमिकामा देखिएको बताउँदै पारिवारिक भावना बोकेको चलचित्र सबैका लागि रुचिकर हुने उल्लेख गर्नुभयो।
​गायिका सलिना विकले वरिष्ठ गायक ढकालसँग साङ्गीतिक सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो। चलचित्रको प्रचारप्रसार र साङ्गीतिक यात्राका क्रममा ‘म्यूजिकल टूर २०२६’ को टोलीले बिर्तामोडस्थित वन स्टप मलको परिसरमा विशेष साङ्गीतिक कार्यक्रम समेत आयोजना गरेको छ। गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले चलचित्रको प्रवर्द्धनका लागि यस्तो साङ्गीतिक कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

About Author

Advertisement