मङ्पू: समाजसेवी विक्रम राईले मानव सेवा नै माधव सेवा हो भन्ने उक्तिलाई चरितार्थ पार्दै समाजसेवा गरिरहेको छ। आफ्नो क्षेत्रमा कोही पनि बिरामी भएको सुन्न साथ सधैं नै सहयोगको हात बढाउँदै अघि आउने सिटोङका समाजसेवी विक्रम राई एकजना ५६ वर्षीय दिव्याङ्ग बिरामीलाई सहयोग गर्न आज मङपु आइपुगे। सिटोङ निवासी दिव्याङ्ग ऐतासिंह लेप्चा गत केही दिन अघि लडेर सिकिस्त बनेपछि हाल तिनलाई मङपुमा ल्याएर फिजियोथ्योरापी गरिरहेको छ। यसरी परिवार पक्षले आर्थिक सहयोगको लागि अपील गरेको कुरा विभिन्न सोसियल मिडिया मार्फत देख्न साथ विक्रम राई आज बिरामीलाई भेट्नको लागि आज मङपु आइपुगेका थिए। तिनले बिरामीलाई भेटेर तिनको अवस्था बुझ्नको साथै तिनको परिवार पक्षलाई आज १५ हजार रूपियाँको आर्थिक सहयोग पनि गरे। यसवाहेक, तिनले बिमारीको लागि मासिक रूपमा ३००० रूपियाँ सहयोग गर्ने वचन पनि दिएका छन्। सिटोङको घलेटार निवासी समाजसेवी विक्रम राईले हालसम्म दार्जिलिङ जिल्लाभरिका २९ जना बिरामीलाई मासिक रूपमा सहयोग गर्दै आइरहेको जान्नमा आएको छ।








