‘मानव समाजको वस्तीमा’ हस्तलिखित पुस्तक लोकलाई समर्पित

IMG-20220701-WA0202.jpg


विद्यार्थीवर्गले आजको पाठ्यक्रमको माग गर्नुपर्छ : विजयकुमार सुब्बा

गान्तोक। इन्द्र-कृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, देन्तामको पक्षमा आयोजित वरिष्ठ साहित्यकार अनि सुन्दर लिपिकार राज के. श्रेष्ठद्वारा लिखित हस्तलिखित कविता सङ्ग्रह ‘मानव समाजको वस्तीमा’ सिक्किम सरकारका शिक्षा विभागका पूर्व निर्देशक एच. पी. ढकालको अध्यक्षतामा एवं वरिष्ठ प्रगतिवादी साहित्यकार विजयकुमार सुब्बाको मुख्य आतिथ्यमा पाँच माइलस्थित जोरधारा अवस्थित टुइनस्प्रिङ होटलमा भव्यताका साथ लोकलाई समर्पण गरियो।
इन्द्र-कृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका स्वामी तथा समसायमिक पत्रिका सिद्धिका सम्पादक प्रद्युम्न श्रेष्ठको स्वागत सम्बोधनबाट प्रारम्भ भएको पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि विजयकुमार सुब्बाले आफ्नो सम्बोधनमा आफू विद्यार्थी छँदा जुन पाठ्यक्रम पढाइन्थ्यो त्यही पाठ्यक्रम आजका विद्यार्थीहरूलाई पनि पढाइएकोमा गुनासो गर्दै आजका विद्यार्थीवर्गले आजको समयको पाठ्यक्रमको माग गर्नुपर्ने कुरा स्पष्ट रूपमा राखे। यसै क्रममा अब प्रत्येक संघ-संस्थाका वरिष्ठ व्यक्तित्वहरूले नयाँ पीढीलाई ठाउँ छोडिदिनुपर्ने अनि प्रत्येकले अब विद्यार्थीहरूलाई अवसर दिनसके मात्र नेपाली साहित्यको श्रीवृद्धि हुने कुरामा आफू आशावादी रहेको सुब्बाले बताए।
यसरी नै आफ्नो अध्यक्षीय सम्बोधनमा एच. पी. ढकालले विद्याले नै आजको समयको प्रतिनिधित्व गर्नसक्ने अनि आफू एक शिक्षा विभागमा अधिकारी भएका नातामा शिक्षा क्षेत्रमा धेरै त्रुटिहरू रहेको तर त्यसमा कुनै गुनासो राख्नको सट्टा प्रत्येक व्यक्ति आफैमा स्वीधान भएका नातामा स्वअभियान अन्तर्गत समाजमा रहेका अव्यवस्थित संस्कारहरू, कुरीतिहरूलाई बढार्न सकिने कुरा राखे। विद्यार्थीहरू नै भोलिका कर्णधार भएका कारण उनीहरूको शिक्षादानमा हामी सबै लागिपर्नुपर्ने ढकालको स्पष्ट बयान थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ‘मानव समाजको वस्तीमा’-का हस्तलिखित पुस्तकका सर्जक राज के. श्रेष्ठले पुस्तक प्रकाशन गरिदिने सिक्किम राज्यको भानु पुरस्कार विजेता, पूर्व साहित्य अकादमीका परामर्श समितिका सदस्य तथा भर्खरै लालमान सञ्चरानी पुरस्कार विजेता प्रद्युम्न श्रेष्ठप्रति आभार व्यक्त गर्नका साथै अन्यहरू ज-जसले पुस्तक लोकार्पण गर्नमा सहयोग पुर्‍याए उनिहरूप्रति पनि सादर आभार व्यक्त गरेका छन्।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै प्रगतिशील साहित्यकार, नारी-आभा एवं अटल भण्डारीका सम्पादक अर्जुन पीयूषले कार्यक्रममा उपस्थित रहेका एक एक व्यक्ति एक एक संस्थाका प्रतिनिधि रहेको उल्लेख गर्दै कार्यक्रममा कम संख्यामै उपस्थित रहेका व्यक्तिहरूले अध्ययनलाई प्रमुखता दिनसके भोलिको पीढीको भविष्य उज्यालो हुने कुरामा आफू विश्वस्त रहेको पीयूषले बताए।
वरिष्ठ साहित्यकार एवं सफल सर्जक पुण्यप्रसाद कोइरालाद्वारा सञ्चालित कार्यक्रममा कविगोष्ठीको पनि आयोजना गरिएको थियो। कविगोष्ठीमा प्रगतिशील विद्यार्थी साहित्य संघका अध्यक्ष सुश्री श्रद्धाञ्जली दाहाल, जुझारू कवि सुश्री मेरीहाङ्मा सुब्बा, शोधतर्फ अग्रसर कवि सुश्री रेमीरानी राई, वरिष्ठ कवि श्री अमर बानियाँ ‘लोहोरो’, सिद्धहस्त पत्रकार तथा सर्जक पुण्य कोइराला, साहित्य अकादमी दिल्लीबाट बाल साहित्य पुरस्कार प्रापक श्री भीम प्रधानहरूले आ-आफ्ना स्वरचित कविताहरू वाचन गरेका थिए।
कार्यक्रमलाई बीट मार्ने कामको अभिभारा लिँदै शपल अनुवादक एवं साहित्य सर्जक अमर बानियाँ ‘लोहोरो’-ले धन्यवाद ज्ञापन गरेका थिए।
पुस्तक लोकार्पण कार्यक्रममा सिक्किम सरकारका पूर्व मन्त्री सी. बी. कार्की, वरिष्ठ साहित्यकार हरिभक्त शर्मा, लोडेन सेरेप लेप्चा आदि उपस्थित रहेेका थिए।

About Author

Advertisement