मातृभाषालाई अवहेलना गर्नु आमालाई अवहेलना गर्नु होः रूद्र पौड्याल

nepbha_363

मङ्गलबारेः सोरेङ जिल्लाअन्तर्गत मङ्गलबारेमा दुई दिनव्यापी ३२ औँ नेपाली भाषा मान्यता दिवसको समापन कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको आयोजना स्फुरण साहित्य प्रकाशन समिति, नेपाली भाषा मान्यता दिवस समारोह समिति र मङ्गलबारे वरिष्ठ माध्यमिक पाठशालाको संयुक्त तत्वावधानमा भएको थियो। वरिष्ठ साहित्यकार रूद्र पौड्यालले अध्यक्षता गरेको यस कार्यक्रममा मुख्य अतिथिको रूपमा मुख्यमन्त्रीकी धर्मपत्नि शारदा तामाङको उपस्थिति रहेको थियो। उल्लेखनीय छ, कार्यक्रममा जनपक्ष प्रकाशनका प्रकाशक पुण्यप्रसाद शर्मा र साहित्यकार वीरभद्र कार्कीढोलीलाई स्फुरण साहित्य सम्मानद्वारा सम्मानित गरिएको थियो। कार्यक्रममा स्थानीय प्रतिभा तार्गेन तामाङ, सचिन प्रधान, तेजस्वीता मोक्तान र रिञ्छेन डोमा भोटिया प्रशंसा पत्र प्रदान गरियो। कार्यक्रममा भूतपूर्व शिक्षिका देवीमाया बस्नेत, शिक्षक सिद्धार्थ योञ्जन, कवियत्री नीलम गुरूङ र वरिष्ठ साहित्यकार रूद्र पौड्याललाई अभिनन्दन गरिएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ साहित्यकार रूद्र पौड्यालले भाषा भन्ने कुरा साहित्यकार, वैज्ञानिक, विद्वान, राजनीतिज्ञ आदिलाई मात्र आवश्यक पर्छ भन्ने गलत धारणा समाजमा रहेको बताए। भाषाको विशेषता र महत्त्व विषय प्रकाश पार्दै उनले भाषा नभएको भए ज्ञान-विज्ञान र इतिहासका कुराहरू जान्न असम्भव रहने अवगत गराए। सबै भाषा सिक्न सकिन्छ तर मातृभाषा आामाबाट सिकेको हुँदा मातृभाषालाई अवहेलना गर्नु आमालाई अवहेलना गर्नु रहेको बताए। मुख्य अतिथि शारदा तामाङले भाषा र संस्कृतिको क्षेत्रमा वरतमान सरकारले उचित कार्य गरिरहेको बताइन्। आफ्ना जातिय संस्कृती विषय सचेत गराउन हप्तामा एकपल्ट स्कूलमा विद्यार्थीहरूलाई आ-आफ्ना जातीय पोशाक लगाउनको लागि सरकारले पहल गरेको उल्लेख गरिइन्। यस क्रममा मङ्गलबारे महकुमाअन्तर्गत नेपाली र अन्य विषयमा सर्वोत्कृष्ट अङ्क प्रापक विद्यार्थीहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा भाषा दिवसको उद्वोधन गीतको लोकार्पण पनि गरियो। यस गीतका गीतकार विदूर गुरूङ , संगीतकार सुरेन राई र गायिका प्रणिता तामाङ रहेकी छन्।

कार्यक्रममा अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरूले आ-आफ्ना नेपाली, मगर, तामाङ, राई, भोटिया र लेप्चा भाषाका कविताहरू वाचन गरेका थिए। कार्यक्रममा बोमबहादुर सुब्बाले पारम्परिक वाद्यवादनका धुनहरू प्रस्तुत गरेका थिए। मङ्गलबारे वरिष्ठ माध्यमिक पाठशाला, खानिसिरबुङ वरिष्ठ माध्यमिक पाठशाला र स्प्रिङडेल एकाडमीमाँझ हाजिरीजवाफ प्रतियोगिता भएको थियो। यस प्रतियोगितामा स्प्रिङडेल एकाडमी प्रथम र मङ्गलबारे वरिष्ठ माध्यामिक पाठशाला दोस्रो भयो। आयोजक समितिका सल्लाकार मातृका थापा र कोषाध्यक्ष अशोक दोङले सञ्चालन गरेको यस कार्यक्रममा अध्यक्ष सन्तोष आलेले स्वागत भाषण र सल्लाहकार आरबी छेत्रीले धन्यवाद ज्ञ्यापन दिएका थिए। यस अवसरमा जिल्ला पञ्चायत अध्यक्ष तीलादेवी गुरूङ, खण्ड विकास अधिकारीद्वय रविन दोङ र वसन्त मोक्तान, औकाश प्राप्त संयुक्त निर्देशक आइके छेत्री, स्फुरण साहित्य प्रकाशनका अध्यक्ष बीबी गुरूङ, भाषा प्रेमीगण आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement