माउन्ट एभरेस्ट आरोहणका निम्ति ६३ आरोहीले पाए अनुमति

IMG-20240403-WA0005

झापा, भद्रपुर (नेपाल): वसन्त ऋतुको याममा सर्वोच्च शिखर  माउन्ट एभरेस्ट आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति पाएका हुन्। विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले माउन्ट एभरेस्टसहित विभिन्न हिमाल आरोहणका निम्ति १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिए। हिमाल आरोहणको अनुमति बापत् हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व संकलन भएको छ। माउन्ट एभरेस्ट पछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो याममा माउन्ट एवेरेस्ट सहितका हिमाल आरोहणका निम्ति धमाधम आरोहण अनुमति दिन शुरु गरिएको विभागले जनाएको छ। वसन्त ऋतुमा सबैभन्दा बढी आरोही माउन्ट एभरेस्ट आरोहणका निम्ति आउने गर्छन्। विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले माउन्ट एभरेस्ट आरोहणको अनुमति लिएका थिए। यो वर्ष सो संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ।

 प्रेषित: देवेन्द्र क्षेत्री क्षेत्री (देवेन्द्र किशोर ढुङगाना)

About Author

Advertisement