२७ मई: खरसाङ फुटबल एसोसिएसन (केएफए)-को तत्वावधानमा स्थानीय मन्टभियट खेल मैदानमा जारी महकुमा स्तरीय इण्टर स्कूल नक् आउट फूटबल टुर्नामेण्टअन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाइनलमा पेनल्टी शूटआउटमा रोमाञ्चक जीत हासिल गरी सेण्ट अल्फन्सस स्कूलले फाइनलमा स्थान बनायो। आज भएको दोस्रो सेमिफाइनल म्याचमा सेण्ट अल्फन्सस स्कूलले सेण्ट एन्थोनीस स्कूललाई पेनल्टी शूटआउटमा ४-३ ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सेण्ट अल्फन्सस स्कूलबाट दुवै गोल अयुष तामाङले छिराए। यसरी नै सेण्ट एन्थोनीस स्कूलबाट अविनाश सुब्बा लिम्बु र अयुष थापाले गोल गरे।

अब आइतवार हुने फाइनलमा सेण्ट अल्फन्सस स्कूल र पुष्परानी रोय मेमोरियल स्कूलबीच भिड़न्त हुनेछ। आजको म्याचमा मुख्य रेफरी प्रतीक गुरुङ थिए भने सहायकको भूमिकामा विशाल राई अनि बिरेन राई रहेका थिए।










