मरौ घरमा तास-जुवा खेल्नु बन्द, पठन-पाठन शुरु

IMG-20240217-WA0126

सिलगढी: खोलाचन्द फाप्रीको पहिलो सरकारी पंजीकृत सामाजिक संस्था हिमाली युवा संघले मरौ परेको सदस्यको घरमा तास-जुवा खेल्ने चलनमा प्रतिबन्ध गर्दै मरौ घरमा पठनपाठन शुरु गरेको छ। केही वर्ष अघिदेखि हिमाली युवा संघले मरौ परेको घरमा तास-जुवा खेल्ने चलनमा प्रतिबन्ध गरेको थियो भने गत शुक्रबारदेखि मरौ घरमा पठनपाठन गरेर समय बिताउने प्रथा शुरु गरेको छ, जो यो क्षेत्रमा नै नौलो पहल हो।

यस विषयमा संस्थाले बताएको छ, मरौ परेको समय शोकाकुल परिवारको मनोबल बडाउन सान्त्वना, हौसला दिनुपर्ने हुन्छ तर अधिकांश मानिसहरु केवल तास खेल्ने उद्धेश्य लिएर मरौघरमा पुगेका हुन्छन्। तास-जुवा खेल्ने कार्य विकृति हो, तास-जुवाले ससाना नानीहरु, युवा-विद्यार्थीहरु, ठुला मानिसहरु सबैको भविष्य अन्धकारमा पारिरहेको हुन्छ। घरमा भएको धन-सम्पती सकिन्छ तर तास-जुवाको लत छुट्दैन। जब कसैको निधन हुन्छ त्यसबेला त्यो घर-परिवार शोकमा डुबेको हुन्छ तर अधिकांश मानिसहरु दाह संस्कार सकिएको दिनदेखिनै तास-जुवा खेल्न हतार गर्छन, कहिले रात पर्छ अनि तास खेल्ने भनेर सोचेका हुन्छन्। मान्छे बितेको दिनदेखी अन्तिम दिनसम्म मरौ घरमा तास-जुवाको अड्डा हुन्छ। जताततै तासको बन्डल, सिग्रेटका ठुटा, गुट्का चपाएर थुकेको भुइँ अनि भित्ताभरी दाग इत्यादि हुन्छ। यसैले मरौ घरमा तास-जुवा खेल्ने कुप्रथालाई हटाउनु एकदम जरुरी भएकोले यो पहल शुरु गरेको बताइएको छ।

ज्ञात रहोस्, हिमाली युवा संघले आफ्नो स्थापना कालदेखिनै गाउँ, समाजमा शिक्षाको प्रचारप्रसार गर्दै क्षेत्रका अशिक्षित मानिसहरुमा शिक्षादानसँगै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको हो। ‘स्वच्छ-शिक्षित समाज निर्माण गरौँ, मरौ परेको घरमा तास-जुवा नखेलौँ’ भन्ने सन्देशको साथमा मरौघरमा किताबहरु पढ्ने पहल शुरु गरिएको संस्थाका अध्यक्ष परिमल थापा, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष विकास तिम्सिना, उपाध्यक्ष राहुल मंगर, सदस्यहरु करण लेप्चा, विवेक बस्नेत, सुमन लेप्चा, अभिषेक रुचाल, विशाल माझी, गोकुल बर्मण आदिले बताएका छन्।

About Author

Advertisement