गान्तोक: राज्यका पशुपालन विभाग मन्त्री लोकनाथ नेपालले आज राजधानीस्थित लाल बजारमा घरेलु माछा बजारको उदघाटन गरे। बस्तीका माछा बिक्रेता र उत्पादकहरूलाई शहरमा ल्याएर स्थान उपलब्ध गराउनको निम्ति यो बजारको उदघाटन गरिएको मन्त्री नेपालले आफ्नो सम्बोधनमा बताए। उनले जानकारी गराए अनुसार अब बस्तीमा माछा पालेर जिवन धान्नेहरूले यस बजारमा ल्याएर माछा बिक्री गर्ने सकिने अवगत गराए।

वर्तमान सरकारले कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउनको निम्ति विभिन्न प्रकारको योजना लागु गरेको हुनाले अहिले कृषकहरूले यसको लाभ उठाइरहेको उनले थप जानकारी गराए।बस्तीका कृषकहरूले बजारमा आफ्नो उत्पादन बिक्री गर्न पाउनु कृषकहरूको निम्ति सबै भन्दा ठूलो उपलब्धि रहेको जनाए।

यस बजारमा उत्तरे, सिरिबदाम, बासीलाखाका माछा उत्पादकहरूले माछा बिक्री गर्ने स्थान पाएको उनले अवगत गराए। आजको यस कार्यक्रममा गान्तोक निर्वाचन क्षेत्रका विधायक वाइटी लेप्चा, गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्री, पार्षद अशोक प्रसाद लगायत विभाग अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।









