गान्तोक: राज्य सामाजिक कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले आज नयॉं दिल्लीमा केन्द्रिय संसदीय मामिला एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु र केन्द्रिय महिला एवं बाल विकास मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरे।
मन्त्री लेप्चाको साथमा सामाजिक कल्याण विभागकी सचिव सारिका प्रधान, विशेष सचिव सत्येन प्रधान र अतिरिक्त सचिव बन्दना भट्टराई पनि सामेल थिए।
मन्त्री लेप्चाको अगुवाईमा गएको टोलीले केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरेर अल्पसंख्यक मामिलाहरूको बारेमा चर्चा गरे। केन्द्रिय मन्त्रीले गत वर्ष उत्तर सिक्किममा प्राकृतिक प्रकोपले पुऱ्याएको क्षतिपछिको वर्तमान अवस्थाको बारेमा सोधपुछ गरे। मन्त्री लेप्चाले उत्तर सिक्किमका जनता आर्थिक लगायत अन्य चुनौतीहरूको सामना गर्न बाध्य बनेको जानकारी गराए।
उनले चुङथाङमा अस्पताल स्थापना गर्नुको महत्वमाथि प्रकाश पार्दै केन्द्रिय मन्त्रीलाई सिङताम अस्पतालको निर्माण कार्य पूरा गर्न अतिरिक्त कोष र आवश्यक समर्थनको निम्ति आह्वान गरे। यस अतिरिक्त उनले सिक्किम सरकारद्वारा पेश गरिएका विभिन्न परियोजनाहरूमाथि विचार गरिदिन अनुरोध पनि गरे। उनले पाकिम अस्पताल परियोजना अनुमोदनको निम्ति केन्द्रिय मन्त्रीलाई धन्यवाद दिए।
यसैगरी मन्त्री लेप्चाको अगुवाईमा राज्य टोलीले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरेर बाल हेरचाह संस्थान, आंगनवाडी केन्द्र, महिला होस्टेल अनुदान तथा अन्य लम्बित मुद्दाहरूमाथि चर्चा गरे। उनले राज्यमा कार्यान्वित महिला एवं बाल केन्द्रित विभिन्न योजनाहरूको बारेमा जानकारी गराए। केन्द्रिय मन्त्रीले राज्य सरकारका पहलहरूको सराहना गर्दै यस्ता योजनाहरू अन्य राज्यहरूले पनि शुरू गर्न सक्ने बताइन्।








