गान्तोक: शहरी विकास विभागको पदभार ग्रहण गरेपछि आज पहिलोपटक राज्य सचिवालयको सम्मेलन कक्षमा आयोजित बैठकमा मन्त्री एलबी दासले विभागका अधिकारीहरूसँग विभागको कार्य अनि प्रगतिबारे बैठक गरे। जानकारी गराइन्छ, गत २५ अगस्तको दिन मन्त्रीमण्डलमा केही फेरबदल गरिएपछि पूर्व विधानसभा अध्यक्ष एलबी दासलाई शहरी विकास साथै खाद्य एवं नागरिक आपूर्ति एवं उपभोक्ता मामिला विभागको जिम्मेवारी सुम्पिएको छ।
आजको बैठकमा शहरी विकास विभागीय सल्लाहकार राजकुमारी थापा, सचिव एमटी शेर्पा, खण्डीय प्रमुखहरू, सम्बन्धित विभागका अधिकारी अनि कर्मचारीहरूको उपस्थिति रहेको थियो।
विभागको अधीनमा रहेका विविध योजनाहरू कार्यान्वयन सम्बन्धित मामिलासँगै विभागको दैनिक क्रियाकलाप, प्राविधिक विषयहरू आदिबारे बैठकमा व्यापक रूपमा छलफल गरियो।

बैठकलाई सम्बोधन गर्दै मन्त्री एलबी दासले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको राज्य सरकार शहरी क्षेत्रहरूका पूर्वाधारहरूको विकासमा कटिबद्ध रहेको बताए। उनले विशेषगरी राजधानी गान्तोकको सड़क ट्राफिक समस्या, खानेकुराहरू सम्बन्धी सोधीखोजी गरे। राज्यको समग्र शहरी विकास गर्नको लागि के-कस्ता कुरालाई माथि उठाउन र तीब्रता दिनुपर्छ भन्ने कुरामा केन्द्रित भएर ध्यान दिन सम्बन्धित सबै विभागबाट सामूहिक प्रयास गर्न मन्त्री दासले आग्रह गरे। समस्याहरूको प्रत्येक पक्षलाई सावधानीपूर्वक ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै उनले शहरी समस्याहरूलाई न्यूनीकरण गर्न नयाँ अनि दूरगामी उपायहरू अपनाउन आह्वान गरे। दीर्घ विकाससाथै शहरी नीति सुधार गर्न सरकार कटिबद्ध रहेको उनले प्रष्ट पारे। महत्वपूर्ण विचारहरू प्रस्तुत गरेवापत उनले खण्डीय प्रमुखहरू सबैप्रति आभार प्रकट गरे।










