ओखलढुंगा : मनमाया पंगेनीको स्वरमा रहेको गीत ‘ऐना जस्तै हिमाल हेर्दा’ सार्वजनिक भएको छ । कोशी प्रदेशको ओखलढुंगा जिल्लामा अवस्थित खिजिदेम्बा गाउँपालिकाका विभिन्न पर्यटकीयस्थलहरूमा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
गायिका स्वयंकै शब्द रचना रहेको उक्त गीतमा राजकुमार बगरको संगीत छ भने कमल सौरागले संगीत संयोजन गर्नुभएको छ । एभरेष्ट ग्यालरीको निर्माणमा तयार गरिएको यस गीतको भिडियोमा सनम कठायत र पुनम श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दीपक गिरीले गर्नुभएको हो भने सम्पादन विकास दाहालको छ ।
नेपाल सरकारकी सहसचिवसमेत रहनुभएकी गायिका मनमाया पंगेनीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोले दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न सफल भएको छ । एभरेष्ट ग्यालरीले सञ्चालन गरिरहेको ‘दृश्यमा नेपाल’ राष्ट्रिय प्रचारप्रसार अभियानअन्तर्गत निर्माण गरिएको यस गीतको भिडियोले छायांकनस्थल खिजिदेम्बा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास निर्माण पक्षले लिएको छ ।
यसैबीच, नेपाल चलचित्र विकास बोर्डले पनि छायांकनका लागि उपयुक्त नेपालका विभिन्न नवीनतम् गन्तव्यहरूको पहिचान गर्दै आवश्यक प्रचारप्रसार तथा छायांकन कार्यमा सहजीकरण गर्ने अभियान थालेको जनाएको छ । यसले स्थानीय पर्यटन प्रवद्र्धनसँगै नेपाली सिर्जनशील उद्योगलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।










