झापा: अहिले बिहान देखि काठमाण्डौ उपत्यका र गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्रदेशको पाल्पाभन्दा पूर्व देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा बर्षा भइरहेको छ। पर्साको मुडलीमा तीन घण्टामै ८१ मिलिमिटरभन्दा धेरै पानी परेको छ। पूर्वी तराईको धेरैजसो ठाउँमा पानी परेको छ। नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेकोले बदली र बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका सबैजसो ठाउँमा बदली भएर मध्य र पूर्वका धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भारी बर्षाकोसमेत सम्भावना रहेको उनले बताए। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। पहाडीमा मेघ गर्जनसहित चट्याङ तथा मध्य र पूर्वका धेरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।








