देवेन्द्र किशोर ढुङगाना
मध्यपूर्व लामो समयदेखि विश्व शक्तिहरूको प्रतिस्पर्धाको केन्द्र रहँदै आएको क्षेत्र हो। तेल, भूराजनीतिक स्थिति र धार्मिक–राजनीतिक जटिलताका कारण यहाँको प्रत्येक द्वन्द्वले विश्व राजनीतिमा गहिरो प्रभाव पार्ने गर्दछ। पछिल्लोपटक ईरान र अमेरिकाबीच भएको दुई हप्ते युद्धविराम पनि केवल क्षेत्रीय घटनामात्र नभई विश्व शक्ति–सन्तुलनमा भइरहेका परिवर्तनहरूको संकेतका रूपमा हेरिएको छ। यस घटनामा पाकिस्तानसँगै चीनको नाम जोडिनु, र स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भूमिकालाई स्वीकार गर्नु, विश्व राजनीतिमा नयाँ ध्रुवीकरणको प्रारम्भिक संकेत हुन सक्छ।
ट्रम्पको भनाइअनुसार चीनले ईरानलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि चीनले यसलाई स्पष्ट रूपमा पुष्टि नगरे पनि “शान्ति र स्थिरताको लागि रचनात्मक भूमिका” खेलिरहेको दाबी गरेको छ। यो कूटनीतिक भाषा भए पनि यसको अन्तर्य गहिरो छ—चीन अब केवल आर्थिक शक्ति मात्र होइन, विश्व राजनीतिक मुद्दाहरूमा निर्णायक प्रभाव पार्ने रणनीतिक शक्ति बन्ने प्रयासमा छ।
मध्यपूर्वमा चीनको सक्रियता नयाँ होइन। विगत केही वर्षदेखि चीनले “बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)” मार्फत क्षेत्रीय देशहरूसँग आर्थिक तथा पूर्वाधार सम्बन्ध विस्तार गर्दै आएको छ। साउदी अरब–ईरान सम्बन्ध सुधारमा चीनको मध्यस्थता यसअघि नै विश्व समुदायले देखिसकेको छ। त्यसैले ईरान–अमेरिका तनाव कम गर्न चीनले पर्दापछाडि भूमिका खेलेको हुनसक्ने आकलन पूर्णतः अस्वाभाविक छैन।
यस घटनामा अर्को महत्वपूर्ण पक्ष पाकिस्तानको सक्रियता हो। ट्रम्पले सार्वजनिक रूपमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनाप्रमुख आसिम मुनीरसँगको संवादपछि युद्धविरामको निर्णय लिएको बताएका छन्। चीन–पाकिस्तान सम्बन्ध अत्यन्त घनिष्ठ रहेको सन्दर्भमा, यी दुई देशले संयुक्त रूपमा मध्यपूर्वमा शान्ति पहल अघि बढाएको भनाइले एउटा समन्वित रणनीतिक चालको संकेत दिन्छ। चीन–पाकिस्तानको पाँच बुँदे प्रस्ताव सार्वजनिक नभए पनि यसको कूटनीतिक अर्थ स्पष्ट छ—अमेरिकी प्रभाव रहेको क्षेत्रमा वैकल्पिक शक्ति–समूहको उदय हो ।
युद्धविरामका सर्तहरू झन् चासोको विषय छन्। ईरानले प्रस्तुत गरेका भनिएका बुँदाहरू—जस्तै अमेरिकी सैन्य हस्तक्षेप रोक्ने ग्यारेन्टी, युरेनियम संवर्धनको मान्यता, प्रतिबन्ध हटाउने, र क्षेत्रबाट अमेरिकी फौज फिर्ता—यी सबै मागहरू यदि आंशिक रूपमा पनि स्वीकार गरिएका छन् भने यसले शक्ति–सन्तुलनमा परिवर्तनको संकेत दिन्छ। यसले देखाउँछ अमेरिका अब एकपक्षीय रूपमा शर्त थोपर्ने स्थितिमा छैन, बरु बहुपक्षीय दबाब र कूटनीतिक सन्तुलनमा निर्णय लिन बाध्य छ।
चीनका विदेशमन्त्री वाङ यीले विभिन्न देशहरूसँग २६ पटकसम्म संवाद गरेको तथ्यले पनि चीनको सक्रिय कूटनीतिक अभियानलाई पुष्टि गर्छ। यद्यपि चीनले अमेरिका वा भारतसँग प्रत्यक्ष संवाद भएको सूची सार्वजनिक हुनु आफैंमा अर्थपूर्ण छ। यसले देखाउँछ चीनले आफ्नो प्रभाव क्षेत्र निर्माण गर्दैछ, जहाँ उसले आफ्ना साझेदारहरूमार्फत प्रभाव विस्तार गर्ने रणनीति अपनाएको छ।
यस घटनालाई विश्व राजनीतिक सन्दर्भमा हेर्दा, यो “एकध्रुवीय विश्व” बाट “बहुध्रुवीय विश्व” तर्फको संक्रमणको संकेत हो। शीतयुद्धपछि अमेरिका विश्वको एकमात्र महाशक्ति बनेको थियो। तर अहिले चीन, र केही हदसम्म रूस लगायत अन्य शक्तिहरूको उदयले शक्ति सन्तुलन बदलिँदै गएको छ। ईरान–अमेरिका युद्धविराममा चीनको सम्भावित भूमिका यस परिवर्तनको जीवित उदाहरण हो।
यसबाहेक, ट्रम्पको चीन भ्रमणको तयारी पनि यस घटनासँग जोडेर हेर्न सकिन्छ। एकातिर प्रतिस्पर्धा, अर्कोतिर सहकार्य—अमेरिका र चीनबीचको सम्बन्ध अहिले द्विविधात्मक अवस्थामा छ। यस्तो अवस्थामा मध्यपूर्व जस्तो संवेदनशील क्षेत्रमा चीनको सक्रियता अमेरिकाका लागि चुनौती र अवसर दुवै हुन सक्छ।
मध्यपूर्वका देशहरूका लागि पनि यो परिवर्तन महत्वपूर्ण छ। अब उनीहरू केवल पश्चिमी शक्तिहरूमा निर्भर नरही वैकल्पिक साझेदारहरू खोज्ने अवस्थामा छन्। चीनले “हस्तक्षेप नगर्ने नीति” र “आर्थिक सहकार्य” को आधारमा आफूलाई विश्वसनीय साझेदारका रूपमा प्रस्तुत गर्दै आएको छ, जसले धेरै देशहरूलाई आकर्षित गरिरहेको छ।
तर, यस सम्पूर्ण घटनालाई अत्यधिक आशावादी दृष्टिले मात्र हेर्नु उपयुक्त हुँदैन। युद्धविराम अस्थायी हो, र यसका सर्तहरू कत्तिको कार्यान्वयन हुन्छन् भन्ने अझै अनिश्चित छ। साथै, चीनको भूमिका कत्तिको निर्णायक थियो भन्ने विषयमा पनि स्पष्ट प्रमाणहरू सार्वजनिक भएका छैनन्। त्यसैले यो घटनालाई “संभावित परिवर्तनको संकेत” का रूपमा बुझ्नु बढी यथार्थपरक हुन्छ।
निष्कर्षतः, ईरान–अमेरिका युद्धविराम केवल एक क्षेत्रीय कूटनीतिक सफलता मात्र होइन, विश्व राजनीति बदलिँदै गएको एउटा महत्वपूर्ण संकेत पनि हो। चीनको नाम यस प्रक्रियामा जोडिनु, पाकिस्तानको सक्रियता, र अमेरिकाको लचिलोपन—यी सबैले मिलेर नयाँ शक्ति–सन्तुलनको प्रारम्भिक चित्र कोर्छन्। यदि यस्ता घटनाहरू निरन्तर दोहोरिँदै गए भने, निकट भविष्यमा विश्व राजनीति स्पष्ट रूपमा बहुध्रुवीय स्वरूपमा रूपान्तरण हुने सम्भावना बलियो देखिन्छ।










